अमेरिका, १९ जेठ/ अमेरिकाको पेनसिल्भेनिया राज्यस्थित पिट्सबर्गमा बस्दै आउनु भएका नेपाली मूलका मिन गुरुङलाई सामाजिक संजालमार्फत समाजमा घृणा, धाक–धम्की र मानहानी गरेको अभियोगमा अमेरिकी सरकारले पक्राउ गरेको छ ।
आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) ले गुरुङलाई पश्चिम भर्जिनियाको हन्टिङ्टन क्षेत्रमा नियन्त्रणमा लिइ राखिएको पुष्टि भएको छ ।
गुरुङ लामो समयदेखि टिकटक लगायत सामाजिक सञ्जालमा सक्रिय रहँदै आउनु भएको थियो । गुरुङका सामग्रीहरूमा विशेष समुदाय जसमा नेपाली र भूटानीहरूलाई गाली–गलौज, धम्की र सामाजिक हत्या (चरित्र हत्या) गर्ने शैली देखिएको पाइन्छ । त्यस्ता भिडियोहरूले सामाजिक सद्भावमा प्रतिकूल असर पारेको भन्दै विभिन्न समुदायका लगायत नेपाली भाषी भूटानी प्रतिनिधिहरूले चर्को विरोध जनाएका थिए ।
पिट्सबर्गमा बसोबास गर्ने गुरुङविरुद्ध अनुसन्धान अघि बढाइएपछि पश्चिम भर्जिनियाको सहरमा पक्राउ गरिराखिएको स्रोत छ । गुरुङमाथि अमेरिकी आप्रवासन कानुन उल्लंघन, समाजमा द्वेष फैलाउने र व्यक्तिको मानमर्दन गर्ने किसिमका अभिव्यक्तिहरू सार्वजनिक गरेको अभियोग लगाइएको छ ।
पश्चिम भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसीले जनवारी महिनामा “सामाजिक सञ्जालको दुरुपयोग गर्दै घृणा फैलाउने गतिविधिमा संलग्न जो–कोहीमाथि कडाइका साथ कारबाही गरिने बताउनु भएको छ । उहाँले संघीय निकायहरूसँग मिलेर आप्रवासन कानुनको कडाइका साथ पालना गरिने स्पष्ट पानुभएको छ ।
यस घटनापछि नेपाली र भुटानी समुदायका अगुवाहरूले सामाजिक सञ्जालमा संयमित र उत्तरदायी व्यवहारको माग गरेका छन् । सामाजिक माध्यमहरूमा असहिष्णुता, गालीगलौज, र चरित्र हत्या गर्नु आपराधिक गतिविधि भएको उनीहरूको भनाइ छ । साथै, कानुनी कारबाही निष्पक्ष र मानव अधिकारसम्मत ढंगले अघि बढाइनु पर्ने माग पनि गरिएको छ ।
त्यसो त भर्खरै मात्र, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ मे १९ मा ‘टेक इट डाउन एक्ट’मा हस्ताक्षर गर्दै यसलाई संघीय कानुनमा परिणत गर्नुभएको छ । यस कानुनले कसैको अनुमति बिना उनीहरूको निजी तस्बिर वा भिडिओहरू चाहे वास्तविक होस् वा एआई प्रविधिबाट बनाइएको ‘डीपफेक’अनलाइनमा पोस्ट गर्नुलाई अपराध ठहर गर्छ ।
हाल गुरुङ आईसीईको हिरासतमा रहेको र उहाँलाई अमेरिकाको आप्रवासन अदालतमा उपस्थित गराइने तयारी भइरहेको छ । यो घटना सामाजिक सञ्जालको दुरुपयोगले कसरी कानुनी अप्ठ्यारोमा पुर्याउन सक्छ भन्ने एक उदाहरणीय कार्य बनेको छ । टिकटकमा गुरूङ जेल गएको खबरले सबै टिकटक प्रयोगकर्ताहरू खुसीका साथ सतर्क भएको देखिन्छ ।









