दमक, २० जेठ / दमकमा निर्माण गरिएको बायोग्यास उत्पादन सुरु भएको तीन वर्षसम्म पनि प्रयोगविहीन छ । अर्थात, दैनिक दुई हजार दुई सय परिवारलाई खाना पकाउन पुग्ने गरी निर्माण गरिएको बायोग्यास प्लान्ट उत्पादनको तीन वर्षसम्म पनि प्रयोगमा आउन सकेको छैन ।
दमक नगरपालिकाको फोहोर व्यवस्थापन पनि हुने र फोहोरबाट बायोग्यास उत्पादन हुने योजनाको साथ बायोग्यास प्लान्ट निर्माण गरिएको थियो । दमक २ स्थित हम्सेदुम्से वन क्षेत्रको तीन बिगाह क्षेत्रफलमा ग्यास प्लान्ट निर्माण गरिएको छ । दमकको फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालि र रोहन ट्रेडर्स जेभी तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच ०७६ माघ १० मा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनामा सम्झौता भएको थियो ।
जसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाँच करोड ८८ लाख २७ हजार ९०२ र कम्पनीले १४ करोड ७० लाख ६९ हजार ७५७ रुपैयाँ लगानी गर्ने सहमति भएको थियो । यद्यपि, अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छैन । नेक्स्ट इरा इनर्जी प्रालि प्रबन्ध निर्देशक विमल खतिवडाका अनुसार यो प्लान्टबाट दैनिक करिब १ हजार ५ सय केजी ग्यास उत्पादन भइरहे पनि त्यसै खेर गइरहेको छ ।









