दमक, २३ जेठ / “प्लाष्टिक प्रदुषण न्यूनिकरणः हाम्रो दायित्व“ भन्ने मूल नाराका साथ दमक नगरपालिका वातावरण शाखाको आयोजना र शुलभ नेपालको आर्थिक सहयोगमा वातावरण सचेतना सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम दमकमा सम्पन्न भएको छ ।
विश्व वातावरण दिवसका अवसरमा दमक नगरपालिकाले हरित नगर समृद्ध दमक, बनाउने उदेश्यले सहरी सौन्दर्य तथा हरियाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत अन्तरक्रिया गरिएको हो । नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक अधिकारको संरक्षण गर्न तथा वातावरणका वर्तमान र भविष्यमा हुने प्रतिकुल असरहरु र त्यसका न्यूनीकरणका उपायहरुका बारेमा जानकारी गराउने कार्यक्रम उद्धेश्य रहेको छ ।
सुलभ इन्टरनेशनल नेपालले विषेशगरी समुदायस्तरमा रहेर वातावरणीय क्षेत्रमा बिभिन्न कार्यहरु गर्दै आएको छ । समुदायको नेटवर्कमा आवद्ध गराउदै सुलभ उद्यमी घर मार्फत नेपालमा रहेका स्थानीय तह रहेका उद्यमीहरुलाई एउटै छातामा जोड्ने सपना रहेको र उद्यमशीलता विकास, स्थानीय शिक्षासंगै यस क्षेत्रमा भएका स्थानीय उद्ययमलाई प्राविधिक सहयोग गदै आर्थिक पहुँचसंग जोड्न बिभिन्न कार्यमा साथ सहयोग रहने सुलभ नेपालका कार्यक्रम व्यवस्थापक शैलेश अधिकारीले बताउनु भयो ।
दमक नगर वातावरण समितिले फोहोरमैला र वातावरण क्षेत्रमा संघ सस्थाहरुसंग सहकार्य गर्दै आएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका सांसद एवम् प्राकृतिक श्रोत तथा पूर्वाधार समितिका सभापति होमबहादुर थापाले सुलभ नेपाललाई सहकार्य गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरको वातावरण तथा हरियाली प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै दमक नगरपालिकाको वातावरण समितिले जीवन चक्र समाजका अध्यक्ष गणेश गौतम र थानालाइन शान्तिमार्ग टोल विकास संस्थालाई नगद र प्रसंसापत्रद्वारा सम्मान गरिएको छ । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य नम्बरलाल धिमाल, दमक नगरपालिकाका कार्यवाहक नगरप्रमुखः पुण्यप्रसाद दाहाल, पूर्व नगर प्रमुख रोमनाथ ओली, इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्रप्रसाद चापागाईलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम नगर वातावरण समितिका संयोजक तथा दमक ६ का अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।









