दमक,२५ जेठ । सामान्य स्वास्थ्य सेवाहरू विस्तार हुँदै जाँदा पनि मानसिक स्वास्थ्यको विषय भने अझै पनि छायाँमा नै रहेको रहेको छ ।यसै तथ्यलाई दृष्टिगत गर्दै झापाको दमकमा एकदिवसीय सामुदायिक मनोसामाजिक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सम्यक परामर्श केन्द्र, ईटहरी, सुनसरीको आयोजना तथा दमक नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा मानसिक स्वास्थ्यका विविध पक्षमा छलफल भयो । कार्यक्रमको उद्घाटन दमक–१ की वडा सदस्य तारा केसीले गर्नुभएको थियो। उद्धघाटन कार्यक्रममा बाल्दै केसीले समाजमा विशेषगरी बालबालिका र वयस्कहरूमा देखिँदै गएको मनोसामाजिक समस्याप्रति चेतना फैलाउन कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
सम्यक परामर्श केन्द्रका अध्यक्ष उमेश कुमार थापाले पछिल्लो समय समाजमा देखापरेको मानसिक समस्यालाई सम्बोधन गर्न र केही सकारात्मक योगदान पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। कार्यक्रमको सहजीकरण गर्दै मनोविद सफल सापकोटाले मानसिक स्वास्थ्य के हो, यसको समाजमा पर्ने प्रभाव, र यस प्रकारका समस्याबाट जोगिन समुदायको भूमिका कस्तो हुनुपर्छ भन्नेबारेमा परामर्श दिनुभएको थियो ।
कार्यक्रममा बालबालिका, अभिभावक, टोल विकास संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागिहरूले कार्यक्रममार्फत मानसिक स्वास्थ्यबारेको बुझाइ प्रस्टिएको र यस्तो अभिमुखिकरणले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।









