झापा, २७जेठ | झापा जिल्लामा भैंसी चोरीको घटना सार्वजनिक भएको छ। झापा गाउँपालिका–६ निवासी १९ वर्षीय बिनोद बनियालाई स्थानीय किसानको भैंसी चोरी गरी बेच्न खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार, हिजो जेठ २६ गते बिहान करिब ११:०० बजे बिनोद बनियाले सोही ठाउँका खगेन्द्र कुमार कार्कीको खेतमा चराउन राखिएको भैंसी पगाहा खोलेर चोरी गरेका थिए। त्यसपछि उनले झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका वडा नं. ६ को सिमानामा पर्ने बिरिङ खोला पुर्याई व्यापारीहरुलाई बोलाएर भैंसी बेच्ने प्रयास गरेका थिए।
तर व्यापारीहरुलाई भैंसी चोरी गरिएको हुनसक्ने शंका लागेपछि घटनाको जानकारी तत्कालै स्थानीय प्रहरीलाई दिइएको थियो। जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले बनियालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो।
झापा जिल्ला प्रहरी कार्यालयका अनुसार, बनियालाई आज झापा जिल्ला अदालतमा उपस्थित गराई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि ५ दिनको म्याद लिइएको छ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको बताएको छ। यस घटनाले गाउँमा पशुपालनमा निर्भर किसानहरूको सुरक्षाप्रति चिन्ता थपिएको देखिन्छ। झापा गाउपालिका भारतसग सिमाना जोडिएको पालिका हो ।
केही समय अघि सिमा आसपासका नागरिक यसरी चौपाया चोरीको घटनाबाट आजित भएका थिए । तर पछिल्लो समय शशस्त्र प्रहरिको बिओपी स्थापना भएपछि यस्ता घटनामा न्यूनीकरण आएको थियो । तर फेरि हिजिआज यसखाले घटना हुन थालेको भन्दै स्थानीयहरु चिन्तित बन्न थालेका छन ।









