दमक, २९ जेठ / भारतको गुजरातस्थित अहमदावादमा २ सय ४२ जना यात्रु बोकेको विमान दुर्घटनामा परी विष्फोट भएको छ ।
बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय ४२ जना यात्रु रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको उल्लेख छ ।
लण्डनका लागि उडान भरेको बोइङ ७८७ ड्रिमलाइन विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ दुर्घटनामा परेको हो । घटनास्थलमा सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् ।
जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।
घटनास्थलबाट सार्वजनिक तस्बिरमा धुवाँको कालो मुस्लो उडिरहेको भारतीय टेलिभिजन एबीपीले उल्लेख गरेको छ । विमानस्थलको बाउण्ड्रीमा कुनै भवन वा पर्खालमा ठोक्किएर विमान दुर्घटना भएको हुनसक्ने प्रारम्भीक आशंका गरिएको छ ।









