उर्लाबारी, ३० जेठ । सव डिभिजन वन कार्यालय उर्लावारी मंगलवारेद्वारा वर्षेनी निःशुल्क रुपमा विरुवा वितरण गर्ने क्रममा चालु आर्थिक वर्षमा ८० हजार बिरुवा वितरण गरिने भएको छ ।
चालु आर्थिक वर्षमा वहुवर्षीय बिरुवा ७० हजार र एक वर्षीय १० हजार गरी ८० हजार बिरुवा विभिन्न निकायलाई वितरण गरिने लक्ष्य रहेको सव डिभिजन वन कार्यालय उर्लावारी मंगलवारेका वन अधिकृत एकराज दाहालले जानकारी दिनुभयो । साझेदारी वन, सामुदायिक वनहरु, पालिका, वडा कार्यालय, विद्यालय, निजी जग्गा र छिमेकी पालिकाहरुमा समेत विरुवा वितरण गरिने छ । जसमा काठजन्य, फलजन्य, डालेघाँस, जडिवुटी र सौन्दर्यवद्र्धक बिरुवा रहेका छन् । काठजन्यमा सिरिष, अर्जुन, खमारी, मसला, टिक, सतिसाल, सखुवा रहेका छन् । फलजन्यमा जामुन, अम्वा, कागती, कटहर रहेका छन् भने डालेघाँस तर्फ कटहर लटहर, बडहर, किम्वु, भटमासे रहेका छन् । जडिवुटी तर्फ हर्रो, वर्रो, अमला, तेजपात तथा सौन्दर्यवद्र्धक बिरुवामा गोल्डमोहर, विरेन्द्र फूल, कल्की र अशोक रहेकाछन् ।
विगत लामो समयदेखि निःशुल्क रुपमा बिरुवा वितरण गर्दै जाँदा वन जंगलसंग पहुँच नपुग्ने सीमा क्षेत्रका समुदायले समेत आफ्नै निजी जग्गामा बोटबिरुवा लगाउँदै आएका छन् । आफ्नो आवश्यकता आफूले लगाएका बोटबिरुवाबाट पुरा गर्ने वातावरण बन्दै गएकाले जंगलको रुख चोरी निकासीमा समेत कमी आएको वन रक्षक सुवेदार टंक विकको भनाई छ ।
उर्लावारी नगरका ८ वटा सामुदायिक वन, ९ वटा वडा र रतुवामाईका ८, ९ र १० नम्बर वडा तथा पथरी शनिश्चरे साझेदारी वनको कार्य क्षेत्र हेर्ने जिम्मेवारी सव डिभिजन वन कार्यालय उर्लावारी मंगलवारेलाई छ ।









