विराटनगर, ३० जेठ । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस भएको छ । जसबाट प्रदेशको आन्तरिक राजस्व उत्साहजनक नरहेको तथ्य उजागर भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सो सर्वेक्षण विवरण प्रस्तुत गर्दै प्रदेशको आन्तरिक राजस्व उत्साहजनक नरहेको बताउनुभयो । उहाँले गत चैत मसान्तसम्म ११ अर्ब ११ करोड पाँच लाख राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । यसैगरी, संघीय अनुदानको जम्मा नौ अर्ब एक करोड वार्षिक लक्ष्यमा ६२ प्रतिशत निकासा प्राप्त भएको जानकारी दिँदै मन्त्री मगरले प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव तीन प्रतिशत र प्रतिव्यक्ति आम्दानी एक हजार ४०१ अमेरिकी डलर रहेको बताउनुभयो ।
उहाँले प्रदेशको आर्थिक क्रियाकलापमा कृषिको ३४ दशमलव चार प्रतिशत र औद्योगिक क्षेत्रको १६ दशमलव शून्य तीन प्रतिशत योगदान रहेको उल्लेख गर्नुभयो ।
प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपरान्ह ३ बजे बस्ने र सो बैठकले आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिनुभयो ।









