विराटनगर, जेठ ३१ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेपालका लागि चीनका राजदूत चेन सोंगबीच विराटनगरमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
प्रदेश राजधानीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा दुई देशबीच आपसी हितका विषयमा कुराकानी भएको थियो।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले वर्तमानमा अघि बढाइरहेको योजनाहरुका बारेमा जानकारी दिँदै कृषि, पर्यटन र सूचना प्रविधिका क्षेत्रमा सहकार्यको प्रस्ताव राख्नुभयो। उहाँले विशेषगरी किमाथांका-जोगबनी सडकको विषयमा जोड दिँदै सो पूर्वाधारले नेपाल–चीन सम्बन्ध मात्र होइन, प्रदेशको समग्र आर्थिक तथा पर्यटन विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभयो।
चीनका राजदूत सोंगले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरयुक्त उत्पादनतर्फ अघि बढ्न सकिने सुझाव दिनुभयो। उहाँले बजार विस्तारको सम्भावना औंल्याउँदै कृषिमा बजारीकरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

किमाथांका–जोगबनी सडक परियोजनाको सन्दर्भमा चीनतर्फको निर्माण कार्य सम्पन्न भइसकेको र नेपालतर्फ काम ढिलाइ भइरहेको विषयमा पनि उहाँले चासो व्यक्त गर्नुभयो।
राजदूत सोंग केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा हुनुहुन्छ। भ्रमणका क्रममा उहाँले इलामसहित विभिन्न जिल्लामा चीन सरकारले सञ्चालन गरिरहेका सहयोगका कार्यक्रमहरूको अवलोकन गर्नुभएको छ।
यस भेटघाटले कोशी प्रदेश र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।









