कमल, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शनिबार झापामा आयोजना हुने संयुक्त जातीय मोर्चाहरूको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न झापा आउँदै हुनुहुन्छ ।
कमल गाउँपालिका–५ स्थित रिभर भ्यू पार्टी प्यालेसमा दिनको १२:४५ बजे हुने कार्यक्रममा प्रचण्डले उद्घाटन मन्तव्य दिने कार्यक्रम तय भएको छ।
झनै रोचक पक्ष के छ भने प्रचण्ड उपस्थित हुने स्थान वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ।
पछिल्ला केही महिनादेखि झापाका विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागीता जनाइरहनु भएका प्रचण्डले यसपटक पनि आफ्नो उपस्थितिमार्फत झापा र कोशी प्रदेशमा राजनीतिक सन्देश दिन सक्ने आँकलन गरिएको छ।
सम्मेलनमा विभिन्न जातीय मोर्चाहरूको सहभागिता रहने बताइएको छ भने समावेशीता, समानता र पहिचानको विषयमा गहन बहस हुने आयोजकले जनाएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्रीको चुनावी क्षेत्रमै प्रमुख प्रतिपक्षी दलका नेताले कार्यक्रम उद्घाटन गर्नु राजनीतिक दृष्टिले पनि विशेष महत्व राख्नेछ।









