मेचीनगर, ३० जेठ | भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउन लागिएको अवस्थामा प्रहरीले झापाको धुलाबारीबाट करिब साढे पाँच लाख रुपैयाँ बराबरका मोबाइल सेट बरामद गरेको छ ।
प्राप्त जानकारी अनुसार, २०८२ जेठ २९ गते दिउँसो ३:३० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१२ स्थित धुलाबारी बस स्ट्याण्ड नजिक चेकजाँचका क्रममा भारतको पश्चिम बंगाल निवासी ६५ वर्षीय नुर आलमलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो । उनी धुलाबारीबाट ईटहरी जाँदै गरेका थिए ।
प्रहरीले आलमको साथमा रहेको झोलाबाट भन्सार छली गरी ल्याइएका कुल १३ थान मोबाइल सेट बरामद गरेको हो, जसको अनुमानित मूल्य ५ लाख ४० हजार रुपैयाँ बराबर रहेको बताइएको छ ।
बरामद मोबाइल विवरण निम्नानुसार छन्ः
१. iPhone 13 Pro Max – १ थान
२. iPhone 12 Pro – २ थान
३. iPhone 12 – ३ थान
४. iPhone 11 – ६ थान
५. iPhone XR – १ थान
प्रहरीका अनुसार, उक्त घटनामा संलग्न व्यक्ति नुर आलमलाई नियन्त्रणमा लिई २०८२ जेठ ३० गते बरामद मोबाइलसहित मेचि भन्सार कार्यालय, काकडभिट्टा पठाइएको छ ।
अवैध रुपमा विदेशी मोबाइलको तस्करी बढ्दै गइरहेको सन्दर्भमा सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी कडा बनाउँदै गएको बताइएको छ ।









