दमक,३ असार /नेपाली वैज्ञानिक महावीर पुन यतिबेला दमकमा आफ्नै जीवनी समेटिएको पुस्तक बिक्रीमा व्यस्त हुनुहुन्छ । देशैभर पुस्तक बिक्री गर्दै हिड्नुभएका उहाँ सोमबारदेखि दमकका चोकचोकमा पुगेर पुस्तक किन्न आग्रह गरिरहनुभएको छ ।
एक हातमा माईक अनि अर्काे हातमा आफ्ना जीवन भोगाई र संघर्षका बारेमा लेखिएको पुस्तक महावीर पुनः सपना र सघर्ष बोकेर पुस्तक किन्न आग्रह गरिरहनु भएको छ । राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि राज्यले एक करोड रुपैयाँ पनि नपत्याएपछि आफ्नै जीवनीलाई पुस्तकमा उतारेर बिक्री गर्दै हिँडेका पुन पछिल्लो समय देश दौडाहामा हुनुहुन्छ । सोही क्रममा केहि हप्ताअघिदेखि पूर्वको भ्रमणमा निस्कनुभएका महावीर पुन सोमबार झापाको दमक आईपुग्नुभयो । दमकका चोकचोकमा पुगेर पुनले आफूले बीरगञ्जमा सञ्चालनमा ल्याएको बीरगञ्ज कृषि औजार आबिस्कार केन्द्र सञ्चालनमा पुस्तक किनेर सहयोग गर्न आग्रह गर्नुहुन्छ ।
सर्वसाधारणले उत्साहका साथ पुस्तक खरिद गरी पुनलाई सहयोग गरिरहेका छन् । कोहि पुस्तक हातमा लिएर पुनको हस्ताक्षर गराउन ब्यस्त देखिन्थे । कोहि पुनसंग तस्बीर खिचाउन । पुनले पनि आफूसंग पुस्तक लिएका सबैजनासंग कुराकानी गर्न भ्याउनुभयो । पुनको पुस्तक किन्न आएका सबैजसो मानिसहरु पुनको अभियानमा साथ दिनकै लागि भएपनि पुस्तक किनेको प्रतिक्रिया दिन्छन् ।
आबिस्कार केन्द्रका सञ्चालक समेत रहनुभएका वैज्ञानिक पुन पुस्तक बिक्री अभियानको मँगलबार ४३३ दिन पुगेको र यो अभियानको उदेश्य सबै नागरिक सामु पुगेकाले पुस्तक किन्न सर्वसाधारणले उत्साहका साथ उपस्थिति जनाइरहेको बताउनुहुन्छ ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले गत वर्ष मात्रै आफ्नो जीवनकथामा आधारित पुस्तक सार्वजनिक गर्नुभएको थियो । ३०८ पृष्ठ रहेको पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ । दमकमा अझै केहि दिन आफ्नो पुस्तक बिक्री गर्ने योजना रहेको पुनले बताउनुभयो ।










