झापा , ३ असार | भारतबाट नेपालतर्फ अबैध रूपमा ल्याइँदै गरेको ठुलो परिमाणको माछा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ।
झापा जिल्ला अन्तर्गत मेचीनगर नगरपालिका–५, नकलबन्दा क्षेत्रबाट खटिएको इलाका प्रहरी चौकी नकलबन्दाको टोलीले तीन सय केजी अमुरु जातको माछा बरामद गरेको हो। माछाको अनुमानित बजार मूल्य एक लाख बीस हजार रुपैयाँ (रु. १,२०,०००) रहेको बताइएको छ।
मंगलबार नियन्त्रणमा लिइएको माछा पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाबाट खटिएको प्रतिनिधिको रोहबरमा काँकरभिट्टामा नै खाल्डो खनी नष्ट गरिएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले माछा लुकाईछिपाई ल्याउनेको पहिचान र नियन्त्रणका लागि थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यस्ता अबैध क्रियाकलापले उपभोक्ताको स्वास्थ्य र स्थानीय उत्पादनमा नकारात्मक असर पार्ने भएकाले नियन्त्रणका लागि थप सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।










