दमक, ४ असार । मेची राजमार्गअन्तर्गत पाँचथरकाे हेवाखोलामा निर्माणाधीन ७० मिटर लामो मोडुलर ब्रिज भाँच्चिएपछि बनेको समितिले अध्ययन थालेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको सडक विभागका उपमहानिर्देशक ललिजन खनालको नेतृत्वको पाँच सदस्यीय छानबिन समितिले हेवा खोलामा भाँच्चिएको पुलको स्थलगत अध्ययनसँगै काम थालेको हो । समितिको टोलीले जडान प्रविधि, लोड व्यवस्थापन तथा प्राविधिक पक्षहरूको अध्ययन सुरु गरेको छ । समितिले सात दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने बताइएको छ ।
समिति संयोजक खनालका अनुसार कमजोरी सच्याएर मोडुलर ब्रिज जडानको कार्य पुनः अघि बढाइनेछ । ब्रिज उपलब्ध गराउने भारत सरकारसँग पनि समन्वय भइरहेको पनि उहाँले बताउनुभयो ।
२०८० सालकाे बाढीले हेवाखोलाकाे पुल बगाएपछि बेलिब्रिज राखिएको थियो । पुनः २०८१ असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएपछि मोडुलर ब्रिज जडानको कामअघि बढाइएकोमा जडानको काम सकिनै लाग्दा जेठ ३१ गते भाँच्चिएको थियो । ब्रिज भाँच्चिएर तीनजना घाइते भएका थिए ।









