मेचीनगर, ६ असार । झापामा मात्र २७ हजार लागूऔषध प्रयोगकर्ता रहेको प्रहरी तथ्यांकले देखाएको छ ।
लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर जिल्ला प्रशासन कार्यालय झापाले आज काँकरभिट्टामा आयोजना गरेको सचेतनामूलक कार्यक्रममा प्रहरीले यो विवरण सार्वजनिक गरेको हो ।
लागूऔषध नियन्त्रणका लागि कुकुरसहित सीमामा खटिने प्रहरीले हरेक दिनजसो कारोबारीलाई नियन्त्रणमा लिए पनि खुला सीमाका कारण प्रहरीले अपेक्षित सफलता हात पार्न सकिरहेको छैन ।
‘ लागूऔषध अहिले जिल्लाकै प्रमुख चुनौती बनेको’ बताउने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी लागूऔषध नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गर्ने तयारी सुनाउनुहुन्छ ।
अहिले सुरु भएको अभियान आउँदो १२ गतेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने बताइएको छ ।
झापाको काँकरभिट्टा, भद्रपुर र गौरीगञ्ज नाकाबाट मात्र मासिक एक करोड रुपैयाँ बराबरको गाँजा, चरेश र अफिमजस्ता लागूपदार्थ अवैध रूपमा भित्रिने प्रहरी तथ्यांकले देखाउँछ ।
यसको न्यूनीकरणका लागि मेचीनगरका विभिन्न विद्यालयमा फ्यान क्लव गठन गरिएको छ । ती क्लवका साथै सुधारगृह सञ्चालक, राजनीतिक दल र नागरिक समाजको समेत सहयोगमा लागूपदार्थ ओसारपसार र प्रयोग रोक्न पहल गरिने प्रजिअ अधिकारी बताउनुहुन्छ ।









