झापा , ७ असार | झापा, बुद्धशान्ति गाउँपालिका–४ टिमाई खोलाबाट नदिजन्य पदार्थ ढुंगा अबैध रुपमा ओसारपोसार गर्दै गरेका पाँच वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गएराति ११:३० बजे तिर अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको गस्ती टोलीले अवैध रूपमा नदीजन्य ढुंगा बोक्दै गरेका ट्र्याक्टरहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ट्याक्टरहरू मे. १ त. ५१३५, मे. १ त. ७३७२, मे. १ त. ७५४३, मे. १ त. ५४४६ र मे. १ त. २४६१ नम्बरका रहेका छन्।
पक्राउ परेका ट्याक्टरहरूलाई प्रहरी टोलीले अस्थायी प्रहरी चौकी मंगलबारेमा राखी आवश्यक कारबाहीका लागि बुद्धशान्ति गाउँपालिका कार्यालय, बुधबारेमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
हालको अवस्थामा खोलाबाट अवैध उत्खननले वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको भन्दै स्थानीय तहले रोकथाममा कडाइ गरेपनि नियन्त्रण बाहिर गएको देखिएको छ। यसअघि पनि टिमाई खोला आसपासबाट पटक–पटक अवैध उत्खननमा संलग्न सवारीसाधन पक्राउ परेका थिए।
स्थानीयवासीहरुले नदीजन्य पदार्थको नियमन र दण्डको कार्यान्वयनमा अझ प्रभावकारी संयन्त्र खडा गर्न माग गरेका छन्।
विशेषज्ञहरूका अनुसार अनियन्त्रित उत्खननले बाढी, कटान, भूक्षय, र संरचनागत जोखिम निम्त्याउने हुँदा तत्काल कठोर नीतिगत हस्तक्षेप आवश्यक देखिन्छ।









