दमक, ८ असार / नेपालीमा एउटा उखाननै छ, सरकारी काम कैले जाला घाम भन्ने । यो उखान सरकारी सेवाका कर्मचारीप्रति ब्यङ्गय गर्दै बनाइएको देखिन्छ । हुन पनि हो सरकारी कार्यालयमा पुग्नेहरुले भोगेको सास्ती बयान गरि कहाँ साध्यै छ र ? यस्तै भएको छ झापाको दमकस्थित मालपोत कार्यालयमा पनि ।
विद्युतीय मेसिनमा सेवाग्राहीकोे औंलाहरु राखेर गरिने बायोमेट्रिक सिष्टममा समस्या आएपछि सेवाग्राहीले पाउनुसम्मको सास्ती पाएका छन् । घटना आजको होइन । समस्या आएको गत बिहिबार नै हो । तर, समस्या अझै हटेको छैन । यसले कर्मचारीलाई हाइसञ्चो बनाइदिएको छ अनि सेवाग्राहीलाई सास्ती दिएको सेवाग्राही तुलसा खरेल बाह्रकोटी र जितेन राईले दुखेसो पोख्नु भएको छ । आफूहरु एउटा कामका लागि ४ दिनदेखि धाउँदै त्यसै घर फर्किदै गर्न वाद्य भएको बताउनुहुन्छ ।
नेपाल कानूनी लेखापढी व्यवसायी एसोसिएसनकी केन्द्रिय सहकोषाध्यक्ष रञ्जना दाहाल गौतम जब यो बायोमेट्रिक प्रणाली सुरु भयो त्यसबेलादेखि नै सेवाग्राहीले सास्ती भोग्दै आइरहेको बताउहुन्छ । समस्याको निराकरणका लागि राज्यले चासो नदिएको भन्दै उहाँ दुखी हुनुहुन्छ । ‘हामीले बुझ्दै जाँदा बायोमेट्रिक डिभाइजरको समस्या रछ । डिभाइजरको कर नबुझाएका कारणले औंठाछाप लगाउने बायोमेट्रिक सिष्टममा समस्या भएको बुझिएको छ । यसरी सेवाग्राँहीलाई दुःखदिनु अन्याय भयो ।’ उहाँले भन्नुभयो ।
सेवाप्रति सेवाग्राहीमात्र होइन स्वयम कर्मचारीनै पनि असन्तुष्ट देखिन्छन् । यस्तो सेवाकै कारण कर्मचारीहरु बद्नाम हुने अवस्था आएको उनीहरु स्वीकार्छन् । मालपोत कार्यालय दमकमा चाँहि बायोमेट्रिक सिष्टम नचलेको भन्ने विषयबारे मालपोत कार्यालय दमकका सूचना अधिकारी कमल पनेरुले समस्या भइरहेको अवस्थामा केही बैकल्पिक प्राविधिक उपाय लगाएर केही काम गरिरहेको जनाउनु हुन्छ ।
अरु कामहरु सहजै चलिरहेपनि बायोमेट्रिक सिष्टम नचल्दा जग्गा पास गर्न पुगेकाहरु रित्तै हात फर्कन बाध्य बनेका छन् । सरकारी कार्यालयहरुमा हुने काममा त्यसैपनि ढिलासुस्ती हुन्छ भन्ने आम बुझाइलाई दमकमा रहेको मालपोत कार्यालयको बायोमेट्रिक सिष्टममा आएको समस्याले थप बल पुगेको स्पष्टै देखिन्छ । सेवाग्राहीलाई सहज ढङ्गले सेवा दिन सकिदैन भने प्रविधिमा मात्र रुपान्तरण गरियो भनेर नाक फुलाउनुको के तुक होला र ?








