९ असार, दमक । राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो साताभित्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । असार ६ गतेभित्रमा सार्वजनिक गर्ने गरी कार्यतालिका बनेपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।
गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनका कारण उत्तर पुस्तिका परीक्षण कार्यमा ढिलाइ भएपछि नतिजा प्रकाशनमा असर परेको हो । शिक्षकहरूको आन्दोलनले उत्तर पुस्तिका परीक्षणमा ३२ दिनको ढिलाइ भएको बताउनुभयो । उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएर अहिले अङ्क इन्ट्री गर्ने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले बताउनुभयो । यो ढिलाइलाई कम गर्न बोर्डले रातदिन काम गरिरहेको उनको भनाइ छ ।
बोर्डले असारको तेस्रो वा चौथो हप्ताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको छ । यद्यपि, तोकिएको मिति भने अझै निश्चित भएको छैन । गत बर्ष २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी थिए । नतिजा प्रकाशनमा भएको ढिलाइले कक्षा ११ को भर्ना प्रक्रिया पछि धकेलिने भएको छ ।









