दमक, १० असार / महिलाको सशक्तिकरण र स्वरोजगारमा योगदानमा आधारित बिभिन्न तालिमहरु सञ्चालनमा आउन थालेका छन् । स्थानीयस्तरमै महिलाहरूको सीप विकास तथा आत्मनिर्भर बन्नका लागि सहयोग पुग्ने उद्धश्यले यस्ता तालिम सञ्चालनमा आउने गरेका छन् । सोही क्रममा दमक नगरपालिका १ ले पनि घरायसी काम व्यवहारमा व्यस्त रहनुपर्ने महिलाहरुका लागि ५ दिने धुप बनाउने तालिम सञ्चालनमा ल्याएर उनीहरुको फुर्सदको समयलाई स्वरोजगार बन्ने कुरामा प्रेरित गरेको छ ।
महिला सशक्तीकरण र देश विकासको एक महत्वपूर्ण आधारका रूपमा महिला उद्यमीलाई लिन सकिन्छ । यहि सोचलाई आत्मसात गर्दै महिलाहरूका लागि एक औपचारिक कार्यक्रमकाबीच धुप बनाउने तालिमको उद्दघाटन गरिएको छ । तालिम लिन वडाका बिभिन्न उमेर समुहका महिलाहरुको सहभागि रहेको छ । आफूहरुलाई अन्य तालिममा त्यति अनुकुल नभएपछि वडाले दिएको यसखाले तालिममा सहभागि जनाएको बताउनुहुन्छ, दमक १ की संगीता अधिकारी ।
दमक नगरपालिका १ का अध्यक्ष हरिप्रसाद न्यौपाने चालु आर्थिक वर्षमा आर्थिक सामाजिक र पूर्बाधारमा छुट्याईका बजेटले यसअघि कम्प्युटर, बारिष्टा र ड्राईभिङ तालिम दिएको र अन्तिममा महिलाहरुमा धुप बनाउने तालिम सञ्चालन गरिएको बताउनु भयो ।
पछिल्लो समय सरकारी रकमबाट तालिम सञ्चालन त हुन्छन् तर तालिम पश्चात सहजीकरणको अभावमा तालिमले उपलब्धी पाउदैन अर्थात, त्यो तालिम निस्प्रभावी हुन जान्छ । दमक १ ले दिएको धुप बनाउने तालिमले चाँहि तालिमपश्चात यसको प्रयोग कसरी गर्छ त ? वडाध्यक्ष हरिप्रसाद न्यौपानेले निगरानीका साथ प्रशिक्षार्थीहरुलाई सो तालिम अनुरुप काम गर्न अभिप्रेरित गर्ने जनाउनु भयो । ‘सामग्री उपलब्ध गराउने कुरामा र बजार नपाउने अवस्था भएमा सहजीकरण गरिदिने छौं ।’– उहाँले भन्नुभयो । तालिमको सहजकर्तामा सहृदयता धुप उद्योगकी सञ्चालक खेमकुमारी संग्रौला ओली रहनु भएको छ ।
यस तालिमलाई स्थानीय सरकारको वार्षिक कार्यक्रमअनुसार सञ्चालन गरिएको हो । तालिमले महिलाको सशक्तिकरण र स्वरोजगारमा योगदान र्पुयाउने विश्वास वडाले लिएको छ ।









