दमक, १० असार । प्रत्येक वर्षको असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुरुप मुलुकका अधिकांश स्थानीय तहले आज नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।
संघीय सरकारको बजेट जेठ १५ र प्रदेश सरकारको बजेट असार १ गते पेश गर्नुपर्ने हुन्छ । यसैका आधारमा स्थानीय तहले बजेटको अंक टुंगो लगाउनुपर्ने भएकाले पनि असार १० गते स्थानीय तहहरुको बजेट प्रस्तुत हुने गर्दछ । सोही क्रममा झापामा रहेका १५ वटै स्थानीय तहको बजेट आज गाउँ/ नगर सभामार्फत प्रस्तुत गरेका छन् ।
७ गाउँपालिका र ८ नगरपालिका गरी १५ स्थानीय तह रहेको झापा जिल्लाका सबै स्थानीय तहले आफ्नो आगामी आर्थिक बर्ष २०८२/८३ को लागि आम्दानी र खर्चको बिबरण सहितको बजेट सार्वजनिक गरेका छन् । यसैक्रममा, झापा केही स्थानीय तहले यसअघि नै बजेट प्रस्तुत गरिसकेका छन् ।
विर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सामाजिक सुरक्षा भत्ताबाहेक १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार बराबरको बजेट ल्याएको छ ।दोस्रो नगर सभाको सातौ अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सो बजेट सार्बजनिक गर्नुभएको हो ।
बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५५ करोड १८ लाख ३८ हजार ६ सय रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको बैठकमा गाउँपालिका उपाध्यक्ष शान्तादेवी शिवाकोटीले सभामा प्रस्तावित आयव्यय सहितको बजेट प्रस्तुत गर्नुभएको थियो ।
भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रू ८० करोड बढी बजेट सार्वजनिक गरेको छ । सोमबार नगरपालिकाको सभा हलमा आयोजित नगर सभाको १६ औं अधिवेशनमा नगर उपप्रमुख राधा कार्कीले रू ८० करोड पाँच लाख २८ हजार बराबरको बजेट सार्वजनिक गर्नुभयो । नगरको वास्तविक आवश्यकतालाई पहिचान गरी बजेट निर्माण गरिएको उपप्रमुख कार्कीले बताउनुभयो । चालू आर्थिक वर्ष २०८१/८२ मा रू १ अर्ब २ करोड २० लाख १९ हजार बजेट रहेकोमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू २२ करोड १४ लाख ९१ हजार न्यून बजेट सार्वजनिक भएको छ ।
हल्दीबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४९ करोड ७७ लाख ७१ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार भएको गाउँ सभामा गाउँपालिकाको गाउँसभामार्फत उक्त रकमको बजेट सार्बजनिक गरेको हो ।
दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ४७ करोड बजेट सार्बजनिक गरेको छ । आज बसेको नगर सभाको बैठकमार्फत नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।
मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ / ०८३ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मीना पोखरेल उप्रेतीले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।
बुद्धशान्ति गाउपालिकाले आगामी आर्थिक वर्षका लागि ६७करोड ६७ लाख ३७ हजार ८०० रुपैयाको बजेट सार्बजनिक गरेको छ । दोस्रो गाउँसभाको १६ औ बैठकमार्फत गाउपालिका उपाध्यक्ष भवानी खतिवडाले कृषिमा आधुनिकीकरण,लघुउद्यममा स्वरोजगारी, पूर्बाधारकाे गुणस्तरमा प्राथमिकता दिदै बजेट सार्बजनिक गर्नुभएको हो ।
झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको बजेटमा जनकल्याणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाको अठारौं गाउँसभामा कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले सार्वजनिक गरेको ५१ करोड ४२ लाख ४३ हजार ५ सय ६४ रुपैयाँको बजेटमा नागरिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजना समावेश गरिएको छ।
अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३को लागि अनुमानित ९५ करोड नौ लाख २१ हजार बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजन गरेको उक्त बजेट, वार्षिक निती तथा कार्यक्रम मंगलबार आयोजित नगर सभाको १७औं नियमित अधिवेशनमा नगरपालिकाकी उपप्रमुख एवम् बजेट तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले पेश गर्नुभएको हो । नगरले उद्यमशिलतामैत्री शिक्षाको निती अवलम्वन गर्ने, हात्ती प्रभावित राहत कार्यक्रमलाई निरुत्साहित गर्दै हात्ती प्रभावित बीमा कार्यक्रम प्रवर्द्धन गर्ने, सुपारी प्रवर्द्धनअन्तर्गत अनुसन्धान र प्रशोधन केन्द्र स्थापना गर्ने तथा सुपारी क्षेत्र विस्तार गर्ने कुरालाई प्राथमिकतामा राखेको छ ।
उता कचनकवल गाउँपालिकाले ६६ करोड १९ लाख ७९ हजार ५३० रुपैयाको बजेट सार्बजनिक गरेको छ । दोस्रो गाउँसभाको १७ औ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नबराज भट्टराईले प्रस्तुत गर्नुभएको हो ।
शिबसताक्षी नगरपालिकाले पनि आगामी आर्थिक बर्षका लागि सामाजिक सुरक्षाबाहेक ९१ करोड,७३ लाख ८८ हजार ४ सय ४४ रुपैयाँको बजेट ल्याएको छ । नगर सभाको १६ औ बैठकमार्फत नगरकी उपप्रमुख नरमाया कार्कीले प्रस्तुत गर्नुभएको हो । नगरले आगामी आर्थिक बर्षको बजेटमा धार्मिक पर्यटन, र युवालाई प्राथमिकतामा राखेर बजेट ल्याएको उपप्रमुख कार्कीले जानकारी दिनुभयो ।
गौरीगञ्ज गाउँपालिकाले ५३ करोड ८६ लाख बजेट ल्याएको छ । यस्तै गौरादह नगरपालिकाले ९४ करोड ९७ लाख ८२ हजारको बजेट ल्याएको छ । कमल गाउँपालिकाले ७२ करोड १२ लाख ३६ रुपैयाको बजेट ल्याएको छ । गाउपालिकाले कृषि र युबा उद्यमलाई प्राथमिकता दिदै बजेट सार्बजनिक गरेको पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने कुवरले जानकारी दिनुभयो ।
यस्तै कन्काई नगरपालिकाले करिब ७० करोड रुपैयाको बजेट सार्बजनिक गरेको छ । नगरले कृषि, पशुपालन, स्वस्थ्य जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर सार्बजनिक गरेको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।









