दमक, ११ असार / तीन तहका सरकार बनेपछि सृजना क्षेत्रको विकासका गतिविधि बढेका छन् । पालिकास्तरमा बालबालिकाको प्रतिभा विकासका कार्यक्रमहरु हुने क्रममा झापाको दमक नगरपालिका कार्यालयको आर्थिक व्यवस्थापनमा २ दिने बाल कला उत्सव २०८२ आयोजना भएको छ ।
बालबालिकाहरुको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने योजनामा दमक नगर बाल सञ्जालको आयोजनामा बुधबारबाट ८ वटा सृजनात्मक विषयमा नगरस्तरीय प्रतियोगिता थालिएको छ । जसमा पहिलो दिन कविता, वादविवाद, श्रृति लेखन र चित्रकला प्रतियोगिता सम्पन्न भएका छन् । प्रतियोगितामा बालबालिकाहरु उत्साहित बनेका थिए ।
बिहीबार वक्तृत्वकला, हस्तकला, बुद्धिचाल र हाजिरीजवाफ प्रतियोगिता सञ्चालन हुने नगर बाल सञ्जाल अध्यक्ष विपेश श्रेष्ठले जनाउनु भयो । कोरोनाकालमा बाल सञ्जालले यसखाले उत्सव गरेको भएपनि त्यसलाई अब निरन्तरता दिने योजना नगरपालिका कार्यालयसंग अघि सारेको उहाँले सुनाउनु भयो । ‘सबै पालिकासंगको सहकार्यमा यसखाले उत्सव झापा जिल्ला स्तरीय नै सञ्चालन गर्ने समेत हाम्रो योजना छ ।’ उहाँले थप्नुभयो ।
विभिन्न विधाका प्रतियोगिताका लागि सर्जकहरु बास्कोटा धनञ्जय, धनकुटे कान्छा, भूपेन्द्रराज तिम्सिना, रमेश भट्टराई, कृष्ण उदासी, सञ्जु थापामगर तथा सञ्चारकर्मी नारायण बस्नेतसहित निर्णायकका रुपमा रहनु भएको थियो ।
शुक्रबार एक कार्यक्रमबीच नतिजा प्रकाशन गर्दै पुरस्कृत बालबालिकालाई पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ ।








