दमक, १५ असार / मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर १ मा रहेको ऐतिहासिक कमल पोखरी र सोही ठाउँको मंगलसिंह माविको खाली जग्गामा वृक्षरोपण कार्य अघि बढाइएको छ ।
सव डिभिजन वन कार्यालय रंगेलीको आयोजनामा त्यहाँका कार्यालय प्रमुख मनोजकुमार यादवको अगुवाईमा विद्यालयको पथरी शनिश्चरे ६ तर्फको सीमानामा पर्ने ० दशमलव ६५ हेक्टर जग्गामा विरुवा रोप्ने कामको सुरुवात गरिएको हो । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर डाँसखोल संरक्षण समिति, सुनवर्षी १ नम्बर वडा कार्यालयसमेतको सहकार्यमा त्यहाँ शिरिष, अमला, कटहर, मसला, कदमसहितका जातका केही विरुवा रोपेर वृक्षरोपण अभियानको थालनी गरिएको थियो । वृक्षरोपणसँगै त्यसलाई जोगाउने घेराबारा पनि सुरु गरिएको छ ।
वृक्षरोपण कार्यमा सुनवर्षी १ का वडाअध्यक्ष वीरबहादुर राई, मंगलसिंह माविका प्रधानाध्यापक सन्तलाल लिम्बूसहितका स्थानीयको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक लिम्बूले विद्यालयको जग्गामा फलफूलसहितका विरुवाबाट बढी आम्दानी हुने बुझेर वृक्षरोपण गरिएको दर्शाउनु भयो ।
यसका साथै कमलपोखरी संरक्षण समितिमार्फत कमलपोखरीको बाहिर भागमा करिब १ हेक्टर क्षेत्रफलमा वनले उपलब्ध गराएको विरुवा रोप्ने कामको पनि थालनी गरिएको छ ।








