काठमाडौं, १६ असार / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा गठवन्धनको सरकार, सङ्घीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने र पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र पेस गरिनेसहितका ६ वटा एजेण्डा रहेका छन् ।
बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा छलफल हुनेछ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनाउनु भएको छ । कांग्रेसका सात भ्रातृसंस्थाको म्याद गत चैत मसान्तमा सकिएको थियो । तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा पनि छलफल हुने उहाँले उल्लेख गर्नुभयो ।
यसैगरी, क्रियाशील सदस्यता वितरणका बारेमा महामन्त्री एवम् क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक गगन थापाले जानकारी गराउने कार्यतालिका छ । असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको समय दिएको छ ।









