दमक, १८ असार / झापाको दमकमा सञ्चालनमा रहेको रेडियो किङ्ग एफएम १०४.१ मेगाहर्ज आजबाट पाँच वर्ष पार गर्दै छैठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कार्यालयमा संक्षिप्त कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा रेडियोका अध्यक्ष भूमिराज पराजुलीले कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा सुरु गरिएको रेडियोले विभिन्न उतार–चढाव पार गर्दै आजको दिनसम्मको यात्रा पूरा गरेको बताउनु भयो । उहाँले भिजुअल माध्यमको डिजिटल प्रविधिसँगैको मल्टिमिडियाका सामु रेडियो पत्रकारिता चुनौतीपूर्ण बन्दै गएको अवस्थामा अझ प्रभावकारी खुराक पस्किएर भूँइमान्छेका आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले स्रोता, विज्ञापनदाता, शुभचिन्तक, रेडियो कर्मचारीलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
उज्यालो खबर अनलाइन र रेडियो किङ्ग एफएमलाई पराजुलीको नेतृत्वको टिमले एकसाथ सञ्चालन गरिरहेको छ । केही महिना अघिमात्र नयाँ व्यवस्थापनमा रेडियो अघि बढाइएको छ ।
यसक्रममा उज्यालो खबरका सम्पादक भूपेन्द्रराज तिम्सिनाले रेडियोको यात्रालाई निरन्तर रुपमा अघि बढाउन स्रोता, विज्ञापनदाता, सहयोगी, शुभचिन्तकको सधैं साथ आवश्यक पर्ने यथार्थ उल्लेख गर्नुभयो । उहाँले स्रोताका लागि आवश्यक खबर तथा सूचना प्रवाहमा अझ मेहनत गर्दै सयौं वर्षको यात्रा पार गर्न सक्ने अवस्था सिर्जना होस् भन्ने कामना गर्नुभयो ।
रेडियोका प्रवन्ध निर्देशक सुदीप अधिकारीले रेडियोको समग्र पक्षलाई थप व्यवस्थित गर्दै लगिने जनाउनु भयो ।
सो अवसरमा रेडियो टिमको सहभागितामा केक काटेर वार्षिक उत्सव मनाइएको थियो ।
स्थानीय समुदायका आवाजलाई प्राथमिकतामा राख्दै सञ्चालित रेडियोले समाचार, बहस र मनोरञ्जनका कार्यक्रम तथा सूचना प्रवाहको प्रभावकारी माध्यमका रुपमा श्रोताहरुको मन जित्दै आएको छ । किङ्ग मिडिया ग्रुप प्रालिमार्फत सञ्चालित दमक ८ स्थित गणतन्त्र चोक दक्षिणमा रहेको कार्यालायबाट सो रेडियो १ हजार वाट क्षमतामा सञ्चालनमा छ ।









