दमक, २० असार / चीनबाट भन्दा अमेरिकाबाट नेपाल भित्रिने पर्यटकको संख्या बढ्न थालेको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको सन् २०२५ को तथ्यांकअनुसार जुन महिनामा अमेरिकी पर्यटकको संख्यामा उत्साहजनक वृद्धि देखिएको छ । तर चीनबाट आउने संख्या भने खस्किएको छ ।
तथ्यांकमा जुन महिनामा नेपाल भित्रिने पर्यटकका छिमेकी मुलुक भारतकै वर्चस्व छ । सो महिना भारतबाट ३२ हजार ६ सय ६२ जना पर्यटक नेपाल भित्रिएका छन् ।
दोस्रो स्थानमा संयुक्त राज्य अमेरिका आएको छ, जहाँबाट जुनमा मात्र ९ हजार ६ सय ९६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । कुनै समय दोस्रो स्थानमा रहेको चीन भने ६ हजार ७ सय ३६ पर्यटकसहित तेस्रो स्थानमा खुम्चिएको छ ।
यसै गरी चौथोमा बङ्गलादेश (५ हजार ४४९) र पाँचौँ स्थानमा बेलायत (२ हजार २८४) रहेका छन् ।
सन् २०१९ अघिसम्म भारतीयपछि नेपालमा सबैभन्दा धेरै पर्यटक चीनबाटै आउने गरेका थिए । तर त्यो स्थानमा अहिले अमेरिका उक्लिएको हो ।









