दमक, ३२ असार । कुनै राष्ट्रिय प्रतियोगिता होइन, न त प्रदेश स्तरीयनै । मलेसियामा सम्पन्न १६ वर्षमुनिको ईस्ट जोन कप को, जहाँ नेपालले ऐतिहासिक सफलता हासिल गर्योे। प्रतियोगिताको फाइनलमा सिंगापुरलाई पराजित गर्दै नेपालले उपाधि जित्दा, त्यस जितमा महत्वपूर्ण भुमिका थियो, दमकको आस्था कलेजका विद्यार्थी सुगम बुढाथोकी र सुयोग भट्टराईको । उनीहरु यसै कलेजमा अध्ययन गर्छन् र प्रशिक्षण पनि यसै कलेजले निर्माण गरेको क्रिकेट मैदानमा ।
झापाको जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रिय टोलीमा छानिएका यी दुई खेलाडी मलेसियामा भएको प्रतियोगितामा नेपालका तर्फबाट खेल्न पुगेका थिए । उनीहरूको प्रदर्शनले नेपाललाई जित दिलाउनमा उल्लेखनीय भूमिका खेलेको थियो । नेपाल फर्किएपछि आस्था कलेजले गत आईतबार एक विशेष कार्यक्रम गरी दुवै खेलाडीलाई सम्मान गरेको छ । नगर परिक्रमा समेत गराएर कलेजले आफ्नो विद्यार्थीको अन्तर्राष्ट्रिय सफलता प्रति गौरव व्यक्त गरेको हो ।
कलेजले खेल्न आवश्यक संरचना, प्रशिक्षण र वातावरण उपलब्ध गरायो,त्यसकै कारण आफूहरुले सफलता पाएको बताउनुहुन्छ सुगम बुढाथोकी । तर आगामी दिनमा यति मात्रै पर्याप्त नभएको र अभ्यास गर्नका लागि खेल मैदानको आबश्यक रहेको उहाको धारणा छ ।
आस्था कलेजका कार्यकारी निर्देशक टेकनाथ भण्डारी कलेजले विशेषगरी क्रिकेटमा ठूलो लगानी गर्दै आएको बताउनु हुन्छ । एकेडेमी स्थापना, खेल मैदानको व्यवस्था, प्रशिक्षकको उपलब्धता लगायतका पूर्वाधारमा कलेजले स्पष्ट योजना अनुरूप काम गरिरहेको उहाँको भनाई छ ।
यो कलेजले अध्ययन किताव पढ्नु मात्रै नभएर जीवन बुझ्नु र आफ्नो क्षमता चीन्नलाई पनि प्राथमीकता दिएको निर्देशक भण्डारी बताउनु हुन्छ । कलेजले गरेको त्यहि अभ्यासले आज देश मात्रै नभइ विदेशमा समेत आस्थाको उत्पादन बिक्न , टिक्न र चम्कन थालेकोमा आफुलाई आफुहरुको लगानी र मिहनत सफलता तर्फ लागेको उहाँको दावि छ ।









