दमक, ४ साउन । दमक नगरपालिकाका दुई प्रमुख नदीहरू—रतुवा र मावा खोलामा प्रत्येक वर्ष बर्खायाम सुरु भएसँगै बाढीको जोखिम बढ्ने गर्दछ ।
यी खोलाबाट आउने बाढीका कारण आसपासका बस्तीहरू हरेक वर्ष त्रसित बन्ने गरेका छन् । कतिपय स्थानमा त बाढी बस्तीमा नै पसेर बिस्थापित नै बन्नुपरेका घटनाहरु पनि छन् । यतिमात्र होइन किसानले लगाएको बर्खेबालीमा समेत क्षति पुग्दै आएको छ ।
हरेक वर्ष वर्षा लाग्यो कि खोला किनारमा रहेका नागरिकको दुखको दिनगन्ती नै शुरु हुन्छ । यस्तोमा दीगो समाधानका लागि खोलाका किनारमा तटबन्ध आवश्यक पर्छ ।
दमक नगरपालिका विपद फोकल पर्सन अनन्त सेनेहाङका अनुसार दमक नगर बाढीको जोखिमयूक्त नगर रहेको बताउनु भयो । यहाँ रहेका रतुवा र मावा यसका मुख्य जोखिम बढाउने नदी रहेको बताउँदै उहाँले भन्नुभयो ‘यी नदीका कारण दमकको उत्तरी र दक्षिनी भूभागमा बढि जोखिम निम्तने गर्दछ ।’
यी नदीको नियन्त्रणका लागि भनेर दमकमा तटबन्ध निर्माणका काम पनि अघी बढिरहेका तर त्यो पर्याप्त नरहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार तीन तहकै सरकारसंगको समन्वयमा काम भइरहेको छ ।
अल्पकालिन र दीर्घकालिन योजना यहाँ अघि बढाइएको बताउँदै उहाँले भन्नु भयो ‘दीर्घकालीन रोकथामका लागि रतुवातर्फ दमकको उत्तरी क्षेत्रमा पक्की बाँध निर्माण भइसकेको छ । यहाँ राष्ट्रपति चुरे संरक्षरण कार्यक्रम, एसियाली विकास बैंकको साझेदारीको कार्यक्रममा स्थायी तटबन्धको काम भएको उहाँले जानकारी दिनुभयो । जोखिमयूक्त ठाउँ हेरेर बाँध बाँधिएको उहाँले उल्लेख गर्नु भयो ।
उज्यालोखबरसङग कुरा गर्दै सेनेहाङले भन्नु भयो ‘रतुवाको पूर्व पश्चिम राजमार्ग उत्तरको अधिकांश क्षेत्रमा काम सकिएको भएपनि दमक १ को साकेला थान र नमुना बस्तिको पूर्वतर्फ केही क्षेत्रमा काम गर्न बाँकी छ । अन्य ठाउँमा सकिएको छ । उहाँले भन्नु भयो दमकको ५० प्रतिशत जोखिमयूक्त क्षेत्रहरुमा स्थायी तटबन्ध निर्माण गरिसकिएको छ ।
तुलनात्मक रुपमा मावा नदी बाँध्ने काम कम भएको भएपनि यसको पनि जोखिम हेरेर जोखिमयूक्त ठाउँहरुका स्थाई तटबन्ध निर्माणको काम चलिरहेको उहाँले बताउनु भयो ।
विपद्को पूर्वतयारी के ?
हुन त बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप प्राकृतिक सृजना हो। प्राकृतिक प्रकोपले जनधनको क्षति गर्न सक्ने भएकाले यसले सामान्यतया आर्थिक गतिविधिलाई समेत क्षति र्पुयाउने गर्दछ । यसको नियन्त्रणको प्रयासमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण मानिन्छ ।
दमक नगरपालिकाले चाहि नगरका खोला नियन्त्रण र विपद व्यवस्थापनमा दिगो समाधानमा बिभिन्न योजना बनाइसकेको नगरका प्रमुख तथा विपद व्यवस्थापन समितिका अध्यक्ष राम कुमार थापाले बताउनु भयो ।
यसका लागि आवश्यक पर्ने सबै तयारी र आवश्यक पर्ने श्रोत साधनहरुको व्यवस्थापन गरिसकोको र जोखिमयूक्त स्थानहरुको पूर्वानुमान गरेर त्यस क्षेत्रमा उद्धार तथा राहतका लागि समेत तयारी अवस्थामा रहेको उहाँले बताउनु भयो । जसका लागि समेत पर्याप्त बजेट बिनियोजन गरिएको समेत उहाँले स्पष्ट गर्नु भयो ।









