दमक, ५ भदौ । दमक नगरपालिका–६ का जेष्ठ नागरिकले अब आफ्नो समय घरभित्र मात्रै सीमित गरेर काट्नुपर्ने बाध्यता भोग्नु पर्ने छैन । वडाले बुधबार एक कार्यक्रम आयोजना गरी “जेष्ठ नागरिक चौतारी”को औपचारिक उद्घाटन गरेपछि उनीहरूका लागि भेटघाट, भजनकीर्तन र विविध मनोरञ्जनात्मक गतिविधि गर्न सहज भएको छ।
वडा कार्यालय परिसरमै तयार गरिएको संरचनालाई जेष्ठ नागरिकका लागि *‘साझा स्थल’*का रुपमा सञ्चालन गरिने भएको हो । यसअघि यस्ता क्रियाकलापका लागि टाढासम्म पुग्नुपर्ने बाध्यताले धेरैलाई असहज बनाउँदै आएको थियो। तर यस चौतारीको स्थापना सँगै उनीहरूको त्यो समस्या समाधान भएको छ।
उद्घाटन समारोहमा वडाध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्य थियो। उद्घाटन मात्र होइन, कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले भजन गाएर नाच्दै खुशीयाली साटासाट गरे। कार्यक्रममा उनीहरूको अनुहारमा देखिएको उत्साह र आत्मसन्तुष्टि आफैंमा यस ‘चौतारी’को प्रभावशाली सुरुवातको सङ्केत थियो।
कार्यक्रममा सहभागी भोजराज तिम्सिनाले वडाले जेष्ठ नागरिकका लागि दैनिक भेटघाट गर्न, दुःख–सुख साटासाट गर्न र मादल–हारमोनियमजस्ता रमाइला गतिविधि सञ्चालन गर्न साझा स्थल उपलब्ध गराएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
उमेर ढल्केका जेष्ठ नागरिकहरुलाई घरभित्र मात्र सीमित नराखी बाहिरी वातावरणमा रमाउन सकोस् भन्ने उद्देश्यले यो चौतारी बनाइएको वार्ड अध्यक्ष टेक बहादुर थापाको भनाई छ । केही दिनभित्र धार्मिक ग्रन्थ, पत्रपत्रिका र खाजाको व्यवस्था पनि गरिने उहाले बताउनु भयो ।
स्थानीय तहमा जेष्ठ नागरिक लक्षित यस किसिमका संरचनात्मक पहलहरू न्यून नै छन्। तर दमक–६ वडाले सुरु गरेको यो कदमले समुदायमा सम्मान र माया सहितको सामाजिक वातावरण निर्माण गरिरहेको छ ।
 
								 
								 
								 
											 
								 
								 
								 
								 
								 
								 
								








