दमक, भदौ ११ । दमकको मालपोत कार्यालयमा यस आर्थिक वर्षको सुरुवाती महिनामा घरजग्गा कारोबार केही चहलपहल देखिए पनि अपेक्षित स्तरमा भने पुग्न सकेको छैन।
कार्यालयका तथ्यांकअनुसार साउन महिनामा ७३२ वटा कारोबार दर्ता भएका छन्। गत वर्षको यही अवधिमा भने ६०३ कारोबार दर्ता भएका थिए। कारोबारमा अलि सुधार भए पनि स्थानीय तहहरूले घरजग्गाको वर्गीकरण नगरेकाले कारोबारमा ठूलो मात्रामा गिरावट आएको मालपोत कार्यालय दमकका सूचना अधिकारी कमल पनेरु बताउनुहुन्छ ।
सबैभन्दा बढी आर्थिक गतिविधि हुने दमक नगरपालिकामै समेत घरजग्गा कारोबार सुस्त बनेको छ। सरकारले घरजग्गाको वर्गीकरण र कित्ताकाटमा रोक लगाएपछि बजार नै सुस्त भएको स्थानीय व्यवसायीहरूको गुनासो छ।
दमकका रियल स्टेट व्यवसायी लक्ष्मी बरालका अनुसार कोरोनाकालपछि नै देखिएको आर्थिक मन्दी अझै कायम छ। त्यसमा स्थानीय तहले समयमै वर्गीकरण नगर्दा सामान्य कारोबार समेत अड्किएको छ।
यसैबीच नापी विभागका सिनियर सर्वेक्षक सञ्जय कुमार शाहले पनि स्थानीय तहको ढिलासुस्तीले सेवाग्राही प्रत्यक्ष मारमा परेको बताउनुभयो। उहाँका अनुसार वर्गीकरण र कित्ताकाट कार्य रोकिँदा खरिद–बिक्रीसँगै नामसारी जस्ता काम पनि प्रभावित भएका छन्।
यसरी हेर्दा, मालपोत कार्यालयको राजस्व संकलनमा मात्र नभई सर्वसाधारणको हकहितमै असर परेको प्रष्ट देखिन्छ। कारोबार सुस्त हुँदा बजारमा लगानी घट्ने, रोजगारीमा असर पर्ने र सम्पूर्ण नगरको आर्थिक गतिविधि नै कमजोर हुने चिन्ता स्थानीय स्तरमा बढ्दै गएको छ ।









