पूर्ण खोप लिएको ६ महिना पुगेका सबैलाई बुस्टर

१८ वर्षमाथिका सबैलाई बुस्टर डोज

 

 

 

काठमाडौं — १८ वर्ष र सोभन्दा माथिका सबैलाई कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । पूर्ण खोप लिएको ६ महिना पुगेका सबै वयस्कलाई बुस्टर लगाउन थालिएको हो । त्यस्तै, सरकारले कोभ्यासअन्तर्गत अनुदानमा प्राप्त हुने फाइजरको ९२ लाख डोजलाई पनि प्राथमिक (पहिलो र दोस्रो) सँगै बुस्टरका रूपमा लगाउने योजना बनाएको छ ।

‘१२ वर्ष र सोभन्दा माथिकालाई बुस्टर र प्राथमिक डोज लगाउन मिल्ने ९२ लाख डोज फाइजर मार्चदेखि आउनेछ,’ स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले भने, ‘बुस्टरले भविष्यमा आउन सक्ने सम्भावित लहरको क्षतिलाई न्यून गर्छ ।’ खोपसँगै डाइलेन्ट र सिरिन्जसमेत निःशुल्क आउने मन्त्रालयले जनाएको छ । विभिन्न अध्ययनअनुसार बुस्टर डोजले शरीरमा भएको एन्टिबडी (प्रतिरोध क्षमता) को स्तरलाई बढाउँछ । बुस्टर लिएपछि बिरामीलाई कोभिड संक्रमण भए पनि गम्भीर रूपले बिरामी हुने सम्भावनामा कमी आउँछ । पूर्ण खोप लगाए पनि केही समयपछि शरीरमा भाइरसविरुद्धको एन्टिबडी कम हुँदै जाने भएकाले बुस्टर डोज अभियानलाई तीव्रता दिन विज्ञहरूले सुझाव दिँदै आएका छन् ।

हाल दैनिक लगाइने कुल खोपमध्ये करिब एक तिहाइ बुस्टर डोज लगाउन थालिएको छ । सरकारी अधिकारीहरू प्राथमिक र बुस्टर डोज दुवै लगाइएका कारण तेस्रो लहरका बेला मृत्युदर र स्वास्थ्य जटिलता न्यून देखिएको दाबी गर्छन् । ‘पूर्ण खोप लगाए पनि केही समयपछि इम्युनिटी कम हुन्छ, यसैले बुस्टरको आवश्यकता देखिएको छ,’ दाहालले भने ।

१८ वर्ष पूरा भएकालाई उपलब्ध भए पहिले लगाइएकै खोप, नभए कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, जान्सेन, फाइजरलाई बुस्टरको रूपमा लगाइने भएको छ । खोप लगाउन जाँदा पूर्ण खोप लगाएको कार्ड अनिवार्य बोक्नुपर्नेछ । हालसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप नेपालमा लगाइएको छ । सरकारले कोभिसिल्ड, अस्ट्राजेनेका र एमआरएनए खोप लिएकालाई बुस्टरका रूपमा भेरोसेल लगाउन अनुमति दिएको छैन । तर, भेरोसेल लगाएकाले भने बुस्टरका रूपमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना र फाइजर लगाउन सक्छन् ।

खोप अभियान सुरु भएयता ३ करोड ७१ लाख २१ हजार १ सय ९६ डोज खोप लगाइएको छ । बुधबारसम्म ९ लाख ४३ हजार ९ सय ५६ डोज अतिरिक्त खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल जनसंख्याको ६०.९ प्रतिशत अर्थात् १ करोड ७७ लाख ८६ हजार १ सय ३३ जनाले पूर्ण र ७३.४ प्रतिशत अर्थात् २ करोड १४ लाख १२ हजार ९ सय ८६ जनाले एक डोज खोप लगाएका छन् । हालसम्म अनुदान र खरिद गरी ४ करोड ७८ लाख ८२ हजार ८ सय डोज खोप भित्रिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।