दमक, २९ असोज । दमकमा रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नो वित्तीय हैसियत मजबुत बनाउन उल्लेखनीय प्रगति गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/०७९ देखि २०८१/०८२ सम्ममा पूँजी, निक्षेप, कर्जा लगानी र कारोबारको क्षेत्रमा निरन्तर वृद्धि दर कायम राखेको छ।
संस्थाको १६ औ वार्षिक साधारणसभामा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार हालसम्मको शेयर पूँजी करिब एघार करोड सात लाख ७५ हजार रुपैँया पुगेको छ र यसलाई बढाएर आगामी आर्थीक वर्षमा १५ करोड ६० लाख पुर्याउने लक्ष राखीएको छ । संस्थाको कुल कारोबार आर्थिक वर्ष २०८१/०८२ मा करिब १२ करोड ९० लाख रुपैयाँभन्दा माथि पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उच्च वृद्धिदर हो।अर्कोतर्फ, २०८५ सालसम्मका लक्ष्यहरू पनि निकै महत्वाकांक्षी तय गरिएको छ। सो अवधिसम्म सदस्य संख्या २५ हजार, शेयर पूँजी ३० करोड, कोष हिसाब २५ करोड, बचत निक्षेप १ अर्ब ७५ करोड, र कुल कारोबार २ अर्ब ४५ करोड पुर्याउने योजना संस्थाले बनाएको छ।
दमकमा सम्पन्न भएको साधारणसभाका प्रमुख अतिथी नेपाल बचत तथा ऋण सहकारी महासंघ नेप्स्कुनका केन्द्रिय महासचिव घनश्याम अधिकारीले सहकारी संस्था देशको आर्थिक अवस्था सुधार गर्नको लागी एकदमै महत्वपूर्ण रहेको बताउँदै सहकारी संस्थाहरुलाई पनि भरोसामय काम गर्न सुझाब दिनुभएको छ ।
कार्यक्रममा विशिष्ट अतिथी रहनुभएको दमक नगरपालिको नगर उपप्रमुख रेगिना भट्राई प्रशाईले सहकारी समाज विकासको लागी एकदमै महत्वपूर्ण भएकाले सधैँ नगरपालिकाले सहकारीसँग समन्वयन गरी काम गर्ने पनि बताउनुभयो ।
साथै साधारणसभामा सञ्चारकर्मी बिमल लामिछानेलाई उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कारले सम्मान गरिएको थियो भने बिभिन्न बचत कर्ता सदस्यहरुलाई कारोबारको उत्कृष्टाको आधारमा प्रषंशा सहित सम्मान समेत गरिएको थियो ।









