दमक,९ कार्तिक । छठ पर्व सुरु भएसँगै दमक बजारमा पूजासामग्री खरिदबिक्रीको चहलपहल निकै बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिदेखि विधिवत रूपमा सुरु भएको यस पर्वका लागि बजारमा भक्तजन तथा व्रतालुहरूको भीड बढ्न थालेको हो ।
छठ पूजाका लागि आवश्यक हरियो तरकारी, फलफूल, माटोका भाँडा र बाँसका सामग्री किन्न बजारमा ग्राहकहरूको घुइँचो लागेको छ । विशेष गरी छठी मातालाई अर्पण गरिने प्रसादका रूपमा प्रयोग हुने स्याउ, केरा, सुन्तला, नरिवल, उखु, हरियो बोडी, मूला, अदुवाको बोट, सखर, पानी सिङगडा लगायतका वस्तुहरूको माग अत्यधिक रहेको व्यापारीहरू बताउँछन् । यससँगै पुरुषहरू खोलातट र पोखरीमा घाट निर्माणमा व्यस्त देखिन्छन् भने व्रतालु महिला बाँसका नाङ्लो, ढाकी, कोनिया, डगरी, माटोका हात्ती, दियो, ढकना, कोशिया, केरालगायतका पूजासामग्री खरिदमा व्यस्त छन् । दमक बजारका फूटपाथहरूमा समेत छठमा आवश्यक वस्तुहरू बिक्रीका लागि राखिएका छन् ।
फलफूल व्यापारीहरूका अनुसार छठ पर्वका बेला स्याउ, सुन्तला, उखु, केरा, नरिवल र होक्से जस्ता फलफूलको बिक्री अत्यधिक हुने गर्छ । तर, कोभिड–१९ पछि व्यापारमा आएको मन्दी अझै पूर्ण रूपमा सुधार नभएको दमक ६ का फलफूल ब्याबसायी मनोज कुमार शाहले बताउनुभयो ।
माटोको दियो,कलश,ढक्ना,हात्ती जस्ता माटोका सामाग्रीहरु पुजामा अधिक प्रयोग हुने गरेका छन् । यस बर्ष पनि यस्ता सामाग्रीले राम्रै बजार पाएको दमक बजारमा माटोका सामग्री बेच्ने निर्मला देवी पण्डित बताउनुहुन्छ ।
तर, बजारमा सबै पसलमा उस्तै ब्यापार भने भने भएको छैन । छट पर्बको अघिल्लो दिन पनि केही व्यापारीहरू ग्राहकको पर्खाइमा बस्नुपरेको छ। दमक–८ का व्यापारी कनैया प्रसाद शाह यसबर्षको ब्यापारलाई लिएर चिन्तित भएको प्रतिक्रिय दिनुहुन्छ ।
छठ पर्वले नेपाली समाजमा केबल धार्मिक आस्था र सूर्य उपासनालाई मात्र बलियो बनाएको छैन । यसले बजार र ब्यापारको भूमिकामा समेत उल्लेखनिय भूमिका खेलेको छ।व्यापारीले पर्वका अवसरमा राम्रो आम्दानी गर्दै आएका छन् भने स्थानीय र बाह्य स्रोतबाट आयातित सामग्रीले उपभोक्ताको विविध माग पूरा गरिरहेको व्यवसायी बताउँछन्।









