झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बाह्रदशी गाउँपालिका–४ का २९ वर्षीय राजकुमार साहको डेरामा राति करिब साढे १२ बजे छापा मारेको हो। प्रहरीले घटनास्थलबाट नगद ७५ हजार ६ सय रुपैयाँसहित सात बुंग नखोलेको र एक बुंग खोलिएको तास बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा बिर्तामोड–२ का ३८ वर्षीय रतन राजवंशी, २६ वर्षीय किशोर पराजुली, ४३ वर्षीय उत्तम शिवाकोटी, ४३ वर्षीय राजन थापा, बिर्तामोड–३ का ४० वर्षीय डम्बर बस्नेत, ४० वर्षीय दिवाकर प्रासाई, बिर्तामोड–५ का ३६ वर्षीय राजेन्द्र चौधरी, बाह्रदशी–४ का २९ वर्षीय राजु कुमार साह र मेचीनगर–२ का २८ वर्षीय नारायण पराजुली रहेका छन्।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जुवा कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
								 
								 
								 
											 
								 
								 
								 
								 
								 
								 
								








