दमक, कार्तिक १८ । आठ दलबीच आइतबार हस्ताक्षर भएको पार्टी एकता सहमति पत्रले वामपन्थी पुनर्गठनको आशा जगाएको छ। तर त्यो उत्साह टिक्न नपाउँदै माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र असन्तुष्टि र विभाजनको संकेत देखिएको छ।
माओवादीका जनार्दन शर्मा र समाजवादीका महासचिव घनश्याम भुसालले ‘पहिले वैचारिक स्पष्टता र संगठन पुनर्गठन, त्यसपछि मात्र एकता’ हुनुपर्ने अडान लिएका छन्। उनीहरूका अनुसार नेतृत्व हस्तान्तरणबिना भएको हतारो एकताले पुनः २०७५ सालको नेकपा विघटनको जस्तै गल्ती दोहोर्याउनेछ ।
भुसाल, झलनाथ खनाल, रामकुमारी झाँक्रीलगायत नेताहरूले शनिबार सुकेधारामा भेला गरी ‘नयाँ संरचना बनाउने कि एमाले फर्किने’ भन्नेमा छलफल गरे पनि एकमत हुन सकेका छैनन्। यता माओवादीतर्फ जनार्दन शर्मा आफ्ना निकटस्थसँग ‘वाम ध्रुवीकरण’का सम्भावित मार्गबारे गोप्य छलफलमा छन्।
तर शीर्ष नेताहरू भने एकताको पक्षमा दृढ छन्। माओवादी प्रवक्ता अग्नि सापकोटाले यो एकता ‘दीर्घ गृहकार्य र अनुभवको सार’ भएको भन्दै दिगो हुने विश्वास व्यक्त गरे। समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पनि प्रचण्ड र माधव नेपाल दुवैले महाधिवेशनपछि नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाइसकेको बताए।
आठ दलको संयुक्त एकता घोषणा कात्तिक १९ गते भृकुटीमण्डपमा हुँदैछ। नयाँ पार्टीको नाम अझै टुंगो लाग्न बाँकी छ, तर चुनाव चिन्ह ‘पाँचकुने तार’ र मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहनेछ। राजनीतिक रूपमा नयाँ प्रारम्भको संकेत दिइरहे पनि भित्री असन्तुष्टिले यो एकताको स्थायित्वमा ठूलो प्रश्नचिह्न खडा गरेको छ।









