झापा : मेची राजमार्ग अन्तरगतको चारआली–केचना सडक खण्डको कालोपत्रे निर्माण कार्य अझै पूरा नहुँदा स्थानीयले सास्ती झेल्नु परेको छ।
निर्माण कम्पनी कालिका, कनकाई र याकथुमहाङ जेभीले ३० महिनामा सक्नुपर्ने सडक निर्माण कार्य अधुरो छाडेपछि भद्रपुरका धुलोपीडित स्थानीय फेरि आन्दोलित बनेका छन्।
आन्दोलित बनेका धुलोपीडित स्थानीयले भद्रपुर नगरपालिका कार्यालयदेखि करिब २०० मिटर दक्षिण भानुचोकमा बाँस तेर्साएर सडक अवरोध गरेका छन्।
सोमबार बिहान साढे ८ बजेदेखि सडक अवरोध गरेका कारण साना तथा ठूला सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छ।
भानुचोकदेखि संगमचोकसम्मको करिब ७ सय मिटर सडकमा नाला, सब–वेस र बेस लगायतको काम लगभग सकिएको छ। कालोपत्रे हुन मात्र बाँकी छ। तर, निर्माण कम्पनीले कालोपत्रे बनाउन छाडेर सडक आसपासका स्थानीयलाई धुलो खुवाएपछि सडक अवरोध गर्नु परेको स्थानीय सुशान्त रायमाझीले बताए।
भानुचोकका स्थानीयले यसअघि पनि कैयौँपटक सडक अवरोध गरिसकेको र हालसम्म पनि सडक बनेकोमा उनले गुनासो पोखे।
स्थानीय सडक अवरोध गरेपछि घटनास्थल पुगेका प्रहरीले तेर्साएको बाँस हटाउन खोजेपछि दुवै पक्षबीच वादविवाद भएको स्थानीय अनिता अधिकारीले बताइन्।
‘प्रहरीको काम सहजीकरण गर्ने हो,’ उनले भनिन्, ‘एक्कासि आएर बाँस हटाउनु कार्य गलत भयो।’ घटनास्थलमा ६ नम्बर वडा अध्यक्ष प्रेम बरुवाल लगायतको उपस्थिति रहेको थियो।
वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले सडक अवरोधको बारेमा नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ र उपमेयर चन्द्रामाया श्रेष्ठलाई जानकारी गराउँदै घटनास्थल आएर सडक खुलाउन सहजीकरणको लागि आग्रह गरेका थिए।
‘उहाँहरूले कार्य व्यवस्था देखाउँदै तत्काल सम्बन्धित निकायमा जानकारी गराउने भन्नुभयो,’ उनले भने।
यता, चारआलीदेखि केचनासम्मको ४० किलोमिटर कालोपत्रे सडक निर्माण कार्यअन्तर्गत ० देखि २० किलोमिटर सडक निर्माणको ठेक्का कालिका, कनकाई र याकथुमहाङ जेभीले २०७३ साल असोज १७ गते ३० महिनामा काम सक्ने गरी सम्झौता गरी काम सुरु गरेको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ।
निर्माण कम्पनी नै सम्पर्कविहीन
हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरी अन्तरगतको फिल्ड कार्यालय झापाबाट अवरोध पुर्याएको सडक निर्माणमा कुनै पनि समस्या नरहेको सब इन्जिनियर सीताराम मण्डलले प्रस्टाएका छन्।
निर्माण कम्पनीका ठेकेदार तेज कुरुवाङ आयोजनाको सम्पर्क नआउँदा समस्या उत्पन्न भएको सवइन्जिनियर मण्डलले बताए।
करिब दुई महिनादेखि कालिका, कनकाई र याकथुमहाङ जेभीले लिएका सबै काम बन्द छ। निर्माण कम्पनीलाई दुई महिनाअघि आयोजनाले बिल भुक्तान गरिसकेको छ। निर्माण कम्पनीले सामग्री बिक्रेतालाई पूरा भुक्तानी नदिएको र सोही विषयमा दुवै पक्षबिच विवाद हुँदा सबै कर्मचारी काम छाडेर गएको कम्पनीका साइड इन्चार्ज केवी श्रेष्ठले आयोजनालाई जानकारी गराएको छ।
भुक्तानी नदिएसम्म कुनै पनि साइडमा काम गर्न नदिने बिक्रेता पक्षले निर्माण कम्पनी पक्षलाई चेतावनी दिएको जानकारी आएपछि फिल्ड कार्यालय झापाका इन्जिनियर प्रमोद खतिवडाले पटक पटक निर्माण कम्पनीलाई काम पूरा गर्न लिखित र मौखिक आदेश दिइसकेको छ।
तरपनि ठेकेदार कुरुवाङले निर्माण कार्यलाई तीव्रता दिलाउन कुनै चासो नदेखाउँदा अहिले आएर यस्तो समस्या उत्पन्न भएको सवइन्जिनियर मण्डलको भनाइ छ।
‘यसमा हुलाकी आयोजनाको कुनै गल्ती छैन, पैसाको समस्या पनि छैन, निर्माण कम्पनी नै सम्पर्क नआउँदा समस्या भयो,’ उनले भने। कालिका, कनकाई र याकथुमहाङ जेभीले भद्रपुरको मेची पुलदेखि झापाचोकसम्म र राजगढमा पनि सडक निर्माणको ठेक्का लिएको छ। अहिले त्यो दुवै काम पनि दुई महिनादेखि ठप्प छ।