उर्लाबारी,१४ जेठ। उर्लाबारी नगरपालिकाले बजार अनुगमनलाई नियमित अभियानकै रुपमा अघि बढाएको छ ।
उपभोक्ताको स्वास्थ्य, खाद्य सुरक्षासँगै बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले बुधबार उर्लाबारी–३ मंगलवारे क्षेत्रका खाद्य तथा किराना पसलहरुमा पुनः अनुगमन गरिएको हो ।
पछिल्लो समय बजारमा म्याद गुज्रिएका, लेबल नभएका तथा गुणस्तरमा शंका गरिएका सामग्री खुलेआम बिक्री हुने गुनासो बढिरहेका बेला नगरपालिकाको सक्रियता चासोको विषय बनेको छ । अनुगमन टोलीले पसल–पसल पुगेर व्यवसाय दर्ता, नविकरण, खाद्य अनुज्ञापत्र, मूल्यसूची, उपभोग्य वस्तुको म्याद तथा भण्डारण अवस्थाको निरीक्षण गरेको थियो । टोलीले केही पसलमा म्याद नाघेका खाद्य सामग्री भेटेपछि त्यस्ता सामग्री तत्काल जफत गर्नुका साथै आगामी दिनमा छुट्याएर नष्ट गर्न व्यवसायीलाई निर्देशन दिएको जनाएको छ ।
उर्लाबारी नगरपालिकाका अधिकृत तथा अनुगमन टोलीका संयोजक भरत अधिकारीका अनुसार उपभोक्ता हित संरक्षण समितिको निर्णयअनुसार वैशाख महिनादेखि प्रत्येक हप्ता बजार अनुगमनलाई निरन्तरता दिइँदै आएको छ । उहाँले बजारमा स्वस्थ प्रतिस्पर्धा कायम राख्नुका साथै उपभोक्तालाई सुरक्षित खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले अभियानलाई कडाइका साथ अघि बढाइएको बताउनुभयो ।
खाद्य प्राविधिक मेघना भुजेलले अनुगमनका क्रममा अझै पनि केही व्यवसायी खाद्य सुरक्षा मापदण्डप्रति गम्भीर नभएको पाइएको बताउनुभयो । उहाँका अनुसार कतिपय पसलमा म्याद गुज्रिएका सामग्री अन्य सामग्रीसँगै राखिएको, केहीमा उचित भण्डारणको अभाव देखिएको तथा लेबलिङसम्बन्धी कमजोरीसमेत भेटिएको थियो । उहाँले व्यवसायीलाई सचेत गराउँदै उपभोक्ताको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्नुभयो ।
स्थानीय उपभोक्ताहरुले नगरपालिकाको अनुगमन अभियानलाई सकारात्मक रुपमा लिएका छन् । बजारमा गुणस्तरहीन तथा म्याद गुज्रिएका सामग्री बिक्री हुने डर सर्वसाधारणमा बढिरहेका बेला नियमित अनुगमनले केही हदसम्म विश्वास बढाएको उनीहरुको भनाइ छ । यद्यपि, कतिपयले अनुगमन केवल औपचारिकतामा सीमित नभई दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् । विशेषगरी चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोग्य वस्तुको कारोबार बढ्ने भएकाले अनुगमन अझ प्रभावकारी हुनुपर्ने देखिन्छ । खाद्य सुरक्षाको विषय केवल सरकारी निगरानीको मात्र नभई व्यवसायीको जिम्मेवारी र उपभोक्ताको सचेतनासँग पनि जोडिएको सरोकार हो । नियमित अनुगमन, कडा कानुनी कार्यान्वयन र उपभोक्ताको निगरानी सँगसँगै अघि बढे मात्र बजारलाई सुरक्षित र व्यवस्थित बनाउन सकिने देखिन्छ ।
अनुगमनमा उर्लाबारी नगरपालिकाका कर्मचारी, वडा सचिव सम्झना थापा, नगर प्रहरी हवल्दार लक्ष्मीप्रसाद न्यौपाने, नेपाल प्रहरी, उर्लाबारी उद्योग वाणिज्य संघका प्रतिनिधि केशव भट्टराई तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।









