सुनसरी,१० असार । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उहाँकी पत्नी रामपरी यादव घाइते हुनु भएको छ। मंगलबार दिउँसो करिब १२ बजे बर्जू गाउँपालिका–६ स्थित नरह चोकमा भएको दुर्घटनामा प्रदेश १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा दिउँसो ४ः१६ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उहाँकी पत्नी रामपरी यादव घाइते हुनु भएको छ । उहाँको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक यादव सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी हुनुन्छ । उहाँ हालै सईबाट वरिष्ठ सईमा बढुवा भई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा हुनु भएको थियो । सिराहामा हाजिर हुन जाने क्रममा उहाँ दुर्घटनामा पर्नु भएको थियो।
दुर्घटनामा संलग्न कार मोरङको कटहरी गाउँपालिका–३ निवासी रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीले चलाउनु भएको थियो । उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । डा.चौधरी नेपाल मेडिकल एसोसिएसन विराटनगर शाखाका अध्यक्षसमेत हुनुन्छ । प्रहरीका अनुसार घटनाको कारणबारे थप अनुसन्धान जारी छ । प्रत्यक्षदर्शीहरूले कार तीव्र गतिमा रहेको बताएका छन् । दुर्घटनापछि मोटरसाइकलमा आगलागीसमेत भएको थियो, जसलाई स्थानीयवासीको सहयोगमा तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।









