सम्पत्ति शुद्धीकरण विभागलाई कानुनको दुरुपयोग नगर्न अर्थमन्त्रीको चेतावनी

काठमाडौं,१८ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनु भएको छ । यसको दुरुपयोग भए नेपाल ग्रे लिस्टबाट बाहिरिन कठिन हुने उहाँको भनाइ छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री वाग्लेले नेपालले सम्पत्ति शुद्धीकरण नियन्त्रणका क्षेत्रमा गरेका गतिविधि माथि अन्तर्राष्ट्रिय स्तरबाट कडा निगरानी भइरहेको उल्लेख गर्नु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘सम्पत्ति शुद्धीकरण जस्तो विषयलाई राजनीतिक अभीष्ट पूरा गर्नका लागि दुरुपयोग गरियो भने ग्रे लिस्टबाट बाहिरिन सक्दैनौं । त्यसैले यसलाई राजनीतिक हतियारका रूपमा अगाडि लैजान हुँदैन ।’ मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विभागको संरचनाबारे रहेको भ्रम पनि स्पष्ट पार्नु भएको छ । विभाग अख्तियार दुरुपयोग अनुसन्धान आयोगअन्तर्गत नभई अर्थ मन्त्रालयअन्तर्गत रहेको उहाँले बताउनु भयो । ‘सम्पत्ति शुद्धीकरण विभाग अर्थ मन्त्रालयअन्तर्गत छ । पहिले यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत थियो । त्यतिबेला व्यापक रूपमा उजुरी सङ्कलन गरेर राजनीतिक प्रताडनाको कुसंस्कार बसालिएको थियो। अहिले त्यसलाई सुधार्ने प्रयास गरिरहेका छौं,’ उहाँले भन्नु भयो।

 

उहाँले आर्थिक अपराधको अनुसन्धानका लागि भविष्यमा अख्तियार जस्तै छुट्टै ‘इकोनोमिक क्राइम अथोरिटी’ स्थापना गर्ने विषयमा समेत छलफल आवश्यक रहेको बताउनु भएको छ । ‘आर्थिक अपराध सम्बन्धी छुट्टै अनुसन्धान गर्ने निकाय बनाउन सकिन्छ कि भन्ने विषयमा छलफल हुनुपर्छ । तर अहिले नेपाल ग्रे लिस्टमा रहेकाले तत्कालका लागि आवश्यक कानुनी व्यवस्था अझ सशक्त बनाउँदै लैजानुपर्ने अवस्था छ,’मन्त्री वाग्लेले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास