दमक, २९ असार। बिहानको घडीले करिब ७ः४५ बजाएको थियो। आकाशबाट सिमसिम पानी झरिरहेको थियो। तर वर्षाले न त उत्साह रोकेको थियो, न त सांस्कृतिक गौरवको लय। दमक नगरपालिकाको प्राङ्गणमा विभिन्न जातीय समुदायका प्रतिनिधि आफ्ना मौलिक पहिरन, बाजागाजा र सांस्कृतिक पहिचान बोकेर एकपछि अर्को गर्दै भेला भइरहेका थिए।
कसैको काँधमा ढोल थियो, कसैको हातमा मादल। कतै लिम्बु समुदायको केलाङको ताल गुञ्जिरहेको थियो भने कतै पञ्चेबाजा जोगाइरहेका महिलाहरू गुन्यूचोलोमा सजिएर परम्परागत बाजा बजाइरहेका थिए। विविध संस्कृति एउटै लयमा मिसिँदा दमक नगरपालिकाको परिसर नै नेपाली मौलिकताको जीवन्त संग्रहालय बनेको देखिन्थ्यो। दमक नगरपालिकाका प्रमुखराम कुमार थापा, दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपाल प्रसाद भण्डारी लगायतको नेतृत्वमा सांस्कृतिक ¥याली नगरपालिकाबाट उत्तरतर्फ फाल्गुनन्द चोक हुँदै आदिकवि भानुभक्त आचार्यको शालिक रहेको स्थानतर्फ अघि बढ्यो। बाजागाजाको ताल, मौलिक पोशाक र सांस्कृतिक प्रस्तुतिले सडकभरि भानु जयन्तीको उल्लास फैलाएको थियो।
वर्षा निरन्तर परिरहेकै थियो। तर त्यसले कसैको पाइला रोक्न सकेन। सबैको उद्देश्य एउटै थियो, नेपाली भाषाका आदिकवि आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धा अर्पण गर्नु। कार्यक्रममा कमलस्थित गुरागाईं प्रतिष्ठान अन्तर्गत सञ्चालित बिन्दावासिनी गुरुकुलका बटुकहरूको सहभागिता विशेष आकर्षण बन्यो। उनीहरूले वैदिक स्वस्तिवाचन गरेपछि मात्रै अतिथिहरूले आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
लगातारको वर्षाका कारण पूर्वनिर्धारित कार्यक्रम तालिकामा केही परिवर्तन गर्नुपरेको थियो। खुला मञ्चमा लामो मन्तव्य सम्भव नभएकाले वक्ताहरूलाई सम्बोधनको अवसर दिइएन। त्यसको साटो आदिकवि भानुभक्त आचार्यद्वारा रचित रामायण को एक श्लोक वाचन गरी कार्यक्रमलाई साहित्यिक गरिमा प्रदान गरिएको थियो। दमक प्रज्ञा प्रतिष्ठानको आयोजना, दमक नगरपालिकाको सहयोग तथा भाषा, साहित्य, कला र संस्कृतिका संरक्षणमा सक्रिय विभिन्न संघसंस्थाको सहभागितामा सम्पन्न भएको यो कार्यक्रम भानु जयन्तीको पहिलो चरण थियो।
प्रतिष्ठानले दोस्रो चरणको कार्यक्रम दमकस्थित गोर्खा डिपार्टमेन्टमा आयोजना गर्ने जनाएको छ। उक्त कार्यक्रममा दमकका भाषा, साहित्य, कला तथा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै आदिकवि भानुभक्त आचार्यको योगदानबारे विशेष विमर्श र स्मरण कार्यक्रमसमेत आयोजना गरिने प्रतिष्ठानका सचिव जयबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।


