दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत बजेटको तुलनामा चालु बजेट उल्लेख्य रूपमा बढी खर्च गरेको देखाएको हो । नगरपालिकाको विवरणअनुसार गत आर्थिक वर्षमा चालुतर्फ ८५.१७ प्रतिशत बजेट खर्च हुँदा पूँजीगततर्फ भने ५०.९२ प्रतिशत मात्र खर्च हुन सकेको छ। अर्थात् चालु खर्चको कार्यान्वयन दर पूँजीगत खर्चको तुलनामा झण्डै ३४ प्रतिशत बिन्दुले बढी रहेको छ। यसले सडक, पूर्वाधार र दीर्घकालीन विकासका योजनाभन्दा प्रशासनिक तथा नियमित खर्चले प्राथमिकता पाएको स्पष्ट देखाएको छ ।
आर्थिक वर्ष २०८२÷८३ का लागि दमक नगरपालिकाको कुल बजेट १ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो। त्यसमध्ये पूँजीगततर्फ ७४ करोड ५० लाख ५० हजार रुपैयाँ र चालुतर्फ ७१ करोड २९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो। तर वर्षभरको समग्र खर्च भने कुल बजेटको ६९.५२ प्रतिशत मा सीमित रह्यो। विशेषगरी पूँजीगत बजेटको करिब आधा मात्रै खर्च हुनुले विकास आयोजना समयमै सम्पन्न हुन नसकेको, योजना कार्यान्वयनमा ढिलाइ भएको वा ठेक्का तथा प्रशासनिक प्रक्रियामा समस्या रहेको संकेत गर्ने विश्लेषण गरिएको छ।
स्थानीय तहको सफलता विकास निर्माणको गतिसँग जोडिने भएकाले पूँजीगत खर्च कमजोर हुनु सकारात्मक सूचक मान्न नसकिने अर्थविद राम गिरीले जानकारी दिनुभयो । अर्कोतर्फ, चालु खर्च उच्च हुनु कर्मचारी तलब, सेवा सुविधा, कार्यालय सञ्चालन तथा प्रशासनिक व्यवस्थापनका लागि आवश्यक भए पनि विकास बजेट अपेक्षाकृत कम खर्च हुनु स्थानीयवासीको विकासप्रतिको अपेक्षासँग मेल नखाने विषय रहेको पनि उहाँले उल्लेख गर्नु भएको छ ।









