दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार साँझ करिब ६ः३० बजे पूर्वाञ्चल बेकरी अगाडि प्रहरी टोलीले को ३४ प २६६८ र मे ६ प ५७५७ नम्बरका दुई वटा स्कुटरमा आएका व्यक्तिहरूमाथि खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको हो।
प्रहरीले उनीहरूको साथबाट Tramadol Hydrochloride Capsules IP (Tramol-50) लेखिएको ४ हजार ८ सय ६० क्याप्सुल तथा ब्राउन हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५२० मिलिग्राम (प्लास्टिकसहित) र प्लास्टिकबाहेक १ ग्राम ५२० मिलिग्राम बरामद गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ३४ वर्षीय बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका–२ का २३ वर्षीय किरण लिम्बू, र झापाको दमक नगरपालिका–७ का २१ वर्षीय करण मल्लिक रहेका छन।
घटनामा प्रयोग भएका दुवै स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनालाई बरामद लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका डि एस पि हरि बस्नेतले जानकारी दिनुभयो ।









