काठमाडौं,२० साउन । चर्चित बलिउड अभिनेता प्रदीप रावतको निधन भएको छ । आमिर खान अभिनित चर्चित सिनेमा गजनीमा खलनायक ‘गजनी धर्मात्मा’को भूमिकाबाट परिचित वरिष्ठ भारतीय अभिनेता रावतको क्यान्सर रोगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गर्नु भएको छ। लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका रावतको मंगलबार साँझ मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो । उहाँका प्रबन्धक सिद्धार्थ आर तिवारीका अनुसार रावत पछिल्लो एक महिनादेखि मुम्बईको कोकिलावेन धिरुभाई अम्बानी अस्पतालमा उपचाररत हुनुन्थ्यो ।
केही समयअघि उहाँलाई भिवण्डीस्थित क्यान्सर अस्पतालमा सारिएको थियो । रावतका परिवारमा पत्नी कल्याणी रावत र छोरा विक्रमादित्य रावत रहनु भएको छ । उहाँको निधनको खबर सार्वजनिक भएपछि भारतीय फिल्म उद्योगका कलाकार तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । लगान फिल्ममा सहकार्य गरेका अभिनेता येशपाल शर्माले सामाजिक सञ्जालमा ‘हाम्रा गजनी देवा प्रदीप रावतप्रति हार्दिक श्रद्धाञ्जली’ लेख्दै दुःख व्यक्त गर्नु भएको छ। अभिनेता गजेन्द्र चौहानले पनि रावतलाई श्रद्धाञ्जली अर्पण गर्दै महाभारतमा उहाँले निर्वाह गरेको अश्वत्थामाको भूमिकाको स्मरण गर्नु भएको छ।
भारतीय फिल्म उद्योगमा सशक्त खलनायकका रूपमा परिचित रावतले हिन्दी, तेलुगु र तमिल भाषाका चलचित्रमा अभिनय गर्नु भएको थियो। उहाँले सर्फारोस, लगान, नायक र गजनी जस्ता सफल चलचित्रमा स्मरणीय भूमिका निर्वाह गर्नु भएको थियो । रावतको पछिल्लो चलचित्र चाभा थियो, जसमा उहाँले यसाजी कांकको भूमिका निभाउनु भएको थियो । उहाँले पल शाह र बिपना थापा अभिनित नेपाली सिनेमामा समेत अभिनय गर्नु भएको थियो । भारतीय सिनेमामा खलनायक पात्रलाई प्रभावशाली ढंगले प्रस्तुत गर्ने कलाकारका रूपमा रावतको योगदानलाई दर्शकहरूले लामो समयसम्म सम्झिरहनेछन् । एएनआई









