दमक/
दमकमा बुधबारदेखि एकसाता लामो ‘आठौं फूडफेस्टिवल ’ सुरु भएको छ ।
फूडफेस्टिवलको प्रदेश १ सरकारकी पर्यटन तथा संस्कृति मन्त्री खिनु लङवा लिम्बूले उद्घाटन गर्नुभएको छ । फूडफेस्टिवलमा स्थानीय धिमाल, राजवंशी, तामाङ, लिम्बु, राई, नेवारी लगायतका जातजातिका भान्सामा पाक्ने परम्परागत खानेकुराहरुको तीन दर्जन बढी व्यवसायिक स्टलहरु राखिने छन् । फूडफेस्टिवलमा स्थानीय आदिवासी, जनजातिका विशेष परम्परागत तथा मौलिक खानेकुराहरुको व्यवसायिक प्रवद्र्धनमा सघाउ पुग्ने आयोजक समितिका संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
दमक ७ स्थित पशुहाट क्षेत्रमा आयोजना गरिएको फूडफेस्टिवलमा दैनिक स्थानीय जातजातिको मौलिकता झल्काउने परम्परागत नृत्यसंगै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजक होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालले जानकारी दिए । फूडफेस्टिवलमा १ लाख बढीले अवलोकन गर्ने र करिव रु २५ लाख बढिको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । होटल व्यवसायी संघ दमकले बर्षेनी गर्दै आएको फूडफेस्टिवललाई यस बर्षपनि निरन्तरता दिदै आयोजना गरेको फूडफेस्टिवल चैत २९ चैतसम्म चल्ने छ ।










