हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको नियमित चेकजाँचमा कडाइ गरेको छ।यात्राका क्रममा आफू जाने गन्तव्यको सडकको अवस्था तथा सवारीसाधनको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले यात्रुलाई आग्रह गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानमा नियमित चेकजाँच गर्दै आएको छ। मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउने कार्यलाई समेत प्रहरीले प्राथमिकतामा राखेको जनाएको छ।
चाडपर्वका समयमा यात्रुको चाप बढ्ने तथा राजमार्गमा सवारीसाधनको आवागमनसमेत बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार चाडपर्व नजिकिँदै गर्दा राजमार्गमा तीव्र गतिमा सवारी चलाउने तथा जथाभावी ओभरटेक गर्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले कडाइका साथ चेकजाँच अभियान सञ्चालन गरिएको हो।‘चाडपर्व नजिकिँदै गर्दा राजमार्गमा ओभरटेक गर्ने घटनाहरू बढ्न सक्छन्। यसबाट सवारी दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि हामीले कडाइका साथ चेकजाँच अभियान सुरु गरेका छौँ,’ उनले भने । ट्राफिक प्रहरीले राजस्व संकलनभन्दा सवारी तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। यात्रुलाई सहजीकरण तथा सुरक्षित यात्रा सुनिश्चित गर्न ट्राफिक प्रहरी दिनरात खटिरहेको प्रहरीको भनाइ छ।









