झापाको दमकमा सुकुम्बासी समस्या हरेक निर्वाचनमा प्रमुख चुनावी एजेन्डा बन्ने गरेको छ। मानौँ, यहाँ लाखौँ सुकुम्बासी छन् र उनीहरूको मत आफूतिर तान्न सके चुनाव जितिन्छ भन्ने सोचका साथ राजनीतिक दलहरूले यसलाई प्राथमिकतामा राख्ने गरेका छन्।
तर, पछिल्लो समय दमक नगरपालिकामा संकलित तथ्यांकले सुकुम्बासीको संख्या चुनावी भाषणमा प्रस्तुत गरिएजस्तो ठूलो नरहेको देखाएको छ। नगरपालिकामा करिब ३ हजार परिवारले आफूहरू भूमिहीन सुकुम्बासी भएको भन्दै आवेदन दिएका छन्।
संकलित विवरणअनुसार ५५८ परिवार भूमिहीन दलित छन् भने २ हजार २९९ परिवारले आफूसँग कतै पनि जग्गाजमिन नभएको भन्दै भूमिहीन सुकुम्बासीका रूपमा आवेदन दिएका छन्।
बरु, भूमिहीन सुकुम्बासीको संख्याभन्दा अव्यवस्थित बसोबासीको संख्या बढी देखिएको छ। आफ्नो बसोबास र जग्गाको स्वामित्व व्यवस्थित गरिदिन माग गर्दै दमक नगरपालिकामा ३ हजार १३३ परिवारले आवेदन दिएका छन्।
यी आवेदन जेनजी आन्दोलनअघि दमक नगरपालिका स्तरीय भूमि आयोगमा दर्ता भएका हुन्। त्यसबेला तीनवटै वर्गका गरी कुल ५ हजार ९९० परिवारको आवेदन परेको थियो। तर, जेनजी आन्दोलनका क्रममा नगरपालिकाको भवनमा आगजनी हुँदा ४६३ वटा आवेदन नष्ट भएका थिए।
नष्ट भएका आवेदनसमेत जोड्दा जेनजी आन्दोलनअघि दमकमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी कुल ६ हजारभन्दा बढी परिवारले आवेदन दिएको देखिन्छ।
अहिले नयाँ सरकार गठन भएसँगै नयाँ मापदण्डका आधारमा पुनः सुकुम्बासीको लगत संकलन गर्ने तयारी गरिएको छ। यसका लागि नगरस्तरीय समिति गठन गरी प्रक्रिया अघि बढाउन लागिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिनुभयो।
केही समयअघि दमकका सुकुम्बासी बस्तीमा डोजर चल्ने भन्दै त्रास फैलिएको थियो। तर, अहिले नगरप्रमुख रामकुमार थापाको संयोजकत्वमा नगरस्तरीय समिति गठन भएको र संघीय सरकारले समेत नयाँ मापदण्ड पठाएपछि प्रक्रिया पुनः अघि बढेको उहाँले बताउनुभयो।
यसै विषयमा छलफल गर्न नगरपालिकाले आज सर्वदलीय बैठकसमेत आयोजना गरेको थियो। नयाँ मापदण्डअनुसार वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरी व्यवस्थापनको प्रक्रिया अघि बढाउने तयारी नगरपालिकाको छ।










