पथरी । मोरङको पथरीशनिश्चरे नगरबाट आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको अरोपमा बुबालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।
आफ्नै ११ वर्षीया छोरीलाई पटक–पटक तीन वर्षसम्म बलात्कार गरेको आरोपमा ४० वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आफ्नी जेठी श्रीमतीको उजुरीको आधारमा साउन १६ गते पथरीस्थित घरबाटै पक्राउ गरिएको थियो ।
छोरी गर्भमा हुँदा वैदेशिक रोजगारमा गएका उनी ८ वर्ष पछि घर फर्किएका थिए । उतिखेर छोरीको जन्मपछि २ वर्षको नाबालिका छोडी आमाले दोस्रो विवाह गरिन् । २ वर्षकी नाबालिकालाई घरकी हजुरआमाले हुर्काइन् । ८ वर्षपछि घर आएका बुबाले पनि दोस्रो विवाह गरे ।
प्रहरीमा दिएको बयानअनुसार छोरी ९ वर्षकी हुँदादेखि नै बुबाले छोरीमाथि यौनजन्य क्रियाकलाप गर्न थालेका थिए । छोरीले घरकी हजुरआमालाई बुबाको व्यवहार बारे भने पनि उनले पत्याइनन् । बुबाले कसैलाई नभन्नू भनेमा आफूलाई प्रहरीले पक्राउ गर्ने र हजुरआमा झुण्डिएर मर्ने भन्दै डर देखाउँदै करणी गर्ने गरेको बालिकाले प्रहरीमा बयान दिएकी छन् ।
घरमा कान्छीआमा, बुबा र हजुरआमा बस्थे । उनी स्कुल पढ्दै थिइन् । पढाइमा अब्बल थिइन् । एकदिन पीडा सहन नसकेर स्कुलमै बेहोस भएकी थिइन् । हजुरआमाले नातिनीको कुरा नपत्याएपछि उनले हजुरआमालाई भन्नै छोडिन् ।
गुप्ताङ्गबाट सेतो पानी आउने र तल्लो पेट दुखेपछि उनी एक दिन आफूलाई जन्मदिने आमाको घर गइन् । बालिकाले आफ्नो बुबाको तीन वर्ष अघिदेखीको नालीबेली सुनाइन् । त्यो कुरा सुनेपछि छोडेर गएको जेठी श्रीमतीले पूर्वश्रीमान् विरुद्ध प्रहरीमा छोरी बलात्कार सम्बन्धी किटानी जाहेरी दिएकी हुन् ।
पक्राउ परेका बुबालाई म्याद थप गरी अनुसन्धानमा राखिएको र उनलाई हाडनाता तथा जबरजस्ती करणीसम्बन्धी मुद्दा चल्ने डिएसपी बेदप्रसाद गौतमले बताए ।