झापाको बिर्तामोडबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले सुनसरी घर भई बिर्तामोड नगरपालिका–४ का बस्दै आएका ४० वर्षीय उमेश चौधरी र सिरहाको अमरुवा घर भई बिर्तामोड–३ मा डेरा गरेर बस्ने २७ वर्षीया प्रतीक्षा चौधरीलाई शनिबार दिउँसो पक्राउ गरेको हो । एउटा अटो टेम्पो पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिर्ता बजारबाट बुट्टाबारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोलाई बिर्तामोड–४ स्थित बिजुली अफिसनजिक नियन्त्रणमा लिएर चेकजाँच गर्दा अटो चालक उमेशको साथबाट ब्राउन सुगर बरामद भएको झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । उनको साथबाट चार ग्राम दुई सय मिलिग्राम ब्राउन सुगर बरामद भएको पाठकले बताए ।
उनका अनुसार उमेशलाई सोधपुछ गर्ने क्रममा ब्राउन सुगरको धन्दामा प्रतीक्षाको पनि संलग्नता पुष्टि भएको हो । प्रतीक्षाको कोठाबाट समेत पाँच ग्राम ब्राउन सुगर बरामद भएको उनले बताए ।
दुवै जनालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।