बिर्तामोड । झापाको बिर्तामोडमा पाँच दिनअघि इलामका व्यापारी लुटिएको खबर सार्वजनिक भएको छ । एक अर्काबीच अपरिचित रहेका दुवै जना बैंकको खोजीमा भेट भएका थिए । केही समयपछि नै इलामका व्यापारी लुटिएका रहेछन् ।
घटना गत साउन २५ गतेको हो । घटनाअनुसार बिर्तामोडको भद्रपुररोडमा दुई अपरिचितबीच बैंकको ठेगानाबारे सोधीखोजी भएको थियो । इलाम फाकफोकथुम ३ का कमलबहादुर समाललाई एक जना अपरिचित व्यक्तिले कुमारी बैंक कहाँ छ ? भन्दै सोधेका थिए । समालले जवाफ दिदैं, ‘मलाई थाहा छैन । म पनि सानिमा बैंक खोजिरहेको छु’, भने । यो संवाद भद्रपुर रोडस्थित सानिमा बैंक भएको पुरानो ठाउँ थियो।
समाल इलामका अदुवा व्यापारी हुन् । बिएण्डसी नजिकै सरेको सानिमा बैंकबारे थाहा नभएपछि पुरानै ठाउँ गएका समालले पनि ति व्यक्तिलाई सानिमा बैंक खोज्दै गरेको सुनाएपछि, ति व्यक्तिले समाललाई पच्छ्याएका थिए ।
समालले सानिमा बैंक बिएण्डसी अस्पताल नजिकै सरेको थाहा पाएपछि उनी अटोमा त्यतै लागे । उनैसँग ति अपरिचित व्यक्ति पनि अटोमा कुमारी बैंक खोज्न भन्दै चढे । सानिमा बैंक नजिकै ओर्लिएपछि समालको भाडा समेत उनैले तिरिदिए । र, ५९ वर्षीय समाल बैंक छिरे ।
बैंक छिरेपछि अपरिचित व्यक्ति बैंक बाहिर बसे । बैंकका गार्डले उनको बारेमा सोधीखोजी गरेपछि आफ्नो मान्छे पैसा झिक्न भित्र छिरेको बताए । केहीबेरमै ति व्यक्ति पनि बैंक छिरे र पैसा झिकेका समालसँगै उनी हिँड्दै-हिँड्दै पुरानो भद्रपुररोड छेउ आए । हनुमान सेन्ट्रल र पुरानो भद्रपुररोडको गल्लीभित्रसम्म सँगै आएका ति व्यक्तिले समालको पैसा लुटेर भागे ।
‘आँखामा के हान्यो-हान्यो थाहै भएन’, पीडितले भने । बैंकबाट ल्याएको १ लाख नाटकीयरुपमा लुटिएको समालका भान्जा मित्र मगर बताउँछन् । नाटकीयरुपमा पैसा लुट्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।