पार्क भत्काएर क्याफे बनाउने तयारी

 

 

 

विराटनगर । प्रदेशसभा सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगतको बजेटबाट विराटनगर महानगरपालिकाले विराटनगर ९ मा निर्माण गरेको पार्क भत्काएर व्यवसायिक प्रयोजनमा प्रयोग गर्नेगरी क्याफे बनाउने महानगरले तयारी गरेको छ ।

महानगरले आर्थिक वर्ष २०७५/०७६ बाट बि प्लटको खाली जमिनमा पार्क निर्माण गरेको हो । त्यस आयोजनाका लागि विराटनगर महानगरपालिकाले ३९ लाख र सांसद केदार कार्कीले ४८ लाख रुपैयाँ बजेट विनियोजन गरेर काम थालिएको थियो ।

कूल ८७ लाख रुपैयाँको परियोजना निर्माणका लागि आर्थिक वर्षको अन्त्यमा सम्झौता भयो । तर सांसद विकास कोषको रकम फिर्ता गयो । कार्कीले पुनः बजेट नपठाएपछि महानगरपालिकाले लागत संशोधन गरी ३५ लाख ८१ हजार रुपैयाँ कायम गरेको थियो ।
त्यो बजेटमध्ये २५ लाख ३० हजार रुपैयाँबराबरको काम भएपछि महानगरले उपभोक्ता समितिमार्फत् ठेकेदारलाई २३ लाख १५ हजार रकम भुक्तानी गरेको छ । थप बजेट विनियोजन नहुँदा निर्माणको काम अलपत्र छ ।

पछिल्लो समय ए–प्लटमा पार्किङ बनाउने तयारी गरेको महानगरपालिकाले बी–प्लटमा क्याफे सञ्चालन गर्ने योजना ल्याएको हो । क्याफे निर्माण गर्दा अहिलेको संरचना भत्किने छ । पार्क संरचना निमार्णको काम ८० प्रतिशत सकिएको छ ।

आर्थिक वर्ष २०७५/७६ को नगरसभाले विराटनगरको कोर एरियामा ग्रिनपार्क निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार प्रक्रिया अघि बढाइएको थियो । तर बजेट फ्रिज भएपछि पार्कको निर्माण कार्य अलपत्र परेको हो ।

स्थानीयले पार्कको निर्माण कार्य मापदण्ड विपरित भएको भन्दै अख्तियारमा उजुरी दिएका थिए । बी–प्लटसँगै उत्तरपट्टि रहेको ए–प्लटमा ‘मल्टिस्टोरेज स्मार्ट पार्किङ’ निर्माण गर्ने र बी–प्लटमा क्याफे निर्माण गर्ने योजना रहेको महानगरका सामुदायिक विकास अधिकृत पुनम दाहालले बताए ।

‘ए–प्लटमा स्मार्ट पार्किङ निर्माण गर्ने योजना छ । त्यसका लागि हाल अध्ययनको कार्य भइरहेको छ,’ उनले भने, ‘बी–प्लटमा क्याफे बनाउने अवधारणा पनि आएको हो, बनिसकेको संरचनालाई कुनै क्षति नपुग्ने गरी त्यसलाई क्याफेमा रूपान्तरण गर्छाैं ।

 

Share: