"घटनाबारे अनुसन्धान जारी"

मोरङको बूढीगङ्गामा खाल्डोमा डुबेर नाबालकको मृत्यु 

 

 

मोरङको बूढीगङ्गामा पानी जमेको खाल्डोमा डुबेर एक नाबालकको मृत्यु भएको छ ।

बूढीगङ्गा गाउँपालिका–३ स्थित गोकुवा चोकमा खाल्डोमा डुबेर ६ वर्षीय अङ्कित रामको मृत्यु भएको प्रहरीले जनाएको छ । भारत देवरिया घर भएका नाबालक अभिभावकसँग गोकुवा चोकमा डेरा बस्दै आएका थिए ।

प्रहरीका अनुसार डेरा बसेको घरबाट नाबालक आइतबार साँझदेखि बेपत्ता भएका थिए । नजिकै नदीजन्य पदार्थ स्टक गरेको ठाउँमा जेसीबीले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा आज (सोमबार) बिहान शव फेला परेको हो ।

नाबालक बेपत्ता भएपछि आफन्त र अभिभावकले प्रहरीको सहयोगमा रातभर खोजी गरेका थिए । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याउने तयारी भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Share: